बालेनको थर्काई कडा: घरको नक्सा मसँग हुन्छ कि, तपाईसँग ?

काठमाडौं । काठमाडौं महानगरपालिका भित्र बनेका अनधिकृत संरचनाहरु हटाउन क्रममा मेयर बालेन्द्र शाह (बालेन) आक्रोशित बनेका छन् ।
आज बिहान नयाँ बानेश्वरस्थित अल्फा बिटा कम्प्लेक्सको भवनको अगाडिको भागमा सटर निकालेर फर्मेसी सञ्चालन गर्न दिएको बिषयमा अल्फाबिटा प्रतिनिधिसंग सोधपुछ गर्दा बालेन जंगिएका हुन् । भवन अगाडी खाली रहेको ठाउँमा सटर निकालेर फार्मेसी संचालन गरेपछि सवारी पार्किङ भने सडक पेटीमा हुने गरेको छ ।

मेयर शाहले अल्फाबिटा प्रतिनिधिसंग ‘यस्तो किन गरेको, यो भवनको नक्सा देखाउनुस भन्दा प्रतिनिधिले उल्टै बालेनसंग नक्सा मागेपछि उनि ‘नक्सा मसंग हुन्छ कि तपाईसंग हुन्छ ?’ भन्दै जंगिएका थिए ।

अल्फाबिटाका प्रतिनिधिले आफूहरुले कुनै गलत काम नगरेको, तर मिडिया लिएर आएको भन्दै बालेनसंग असन्तुष्टि जनाएका थिए ।

अनधिकृत रुपमा बनाइएका त्यस्ता संरचना हटाउन महानगरले ३५ दिने सूचना निकालेको भन्दै मेयर बालेनले सूचना पत्र नै देखाएका थिए । ‘यहाँ यत्रो नोटिस दिएको छ, यो के हो ? ३५ दिनभित्र खाली गर भनेर नोटिस दिएको हैन ? तपाईँको घरको नक्सा मसँग हुन्छ कि तपाईसँग ?, बालेनले जंगिदै प्रश्न गरे ।

अल्फाबिटाका अर्का प्रतिनिधिले भने बालेनलाई तपाई हाम्रो प्रतिनिधि भएकाले आवेगमा नआउन आग्रह गरेका थिए । उनले आफूहरुले राज्यलाई कर तिरेर व्यावसाय गरिरहेकाले सम्मान गर्न आग्रह पनि गरे ।

तर मेयर बालेनले आफूहरुले मिडिया स्टन्ट नगरेको बताए । व्यावसायिक भवनहरुले आफ्नो पार्किङ बनाउनुपर्ने बताए ।

बालेनको नेतृत्वमा महानगरको टोलीले हिजो सुन्धारास्थित काठमाडौ मल, न्यूरोडस्थित आर बी कम्प्लेक्स अगाडी बनेका अनधिकृत संरचनामा डोजर लगाएर भत्काइदिएको थियो ।

त्यस्तै महानगरले बबरमहलस्थित जिल्ला अदालत काठमाडौंलाई नक्सा पास भएको विवरण पठाउन पत्राचार समेत गरेको थियो। कानुन विपरीत संरचना बनाएको पाइएमा अदालतमा समेत डोजर चल्ने मेयर साहले बताएका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार