अनशनरत केसीलाई लिन सेनाको हेलिकप्टर धनगढीमा, तर केसी भन्छन्ः जान्न, जबरजस्ती गरे अपहरण भन्छु


कैलाली । कैलालीको धनगढीमा आमरण अनशनरत डा. गोविन्द केसीले काठमाडौं जान अस्विकार गरेका छन् । चिकित्सा क्षेत्रको सुधारसहित विभिन्न ७ बुँदे माग राखेर बिगत ९ दिनदेखि अनशनमा रहेका डा. केसीको स्वास्थ्यमा जटिल समस्या आएपछि उनलाई उपचारका लागि काठमाडौं लैजान सेनाको हृलिकोप्टर धनगढी पुगेको छ । तर, डा. केसीले आफु काठमाडौं जान नमानेको उनका सहयोगी डा. अमृत जैसीले बताएका छन् ।

‘सेनाको हेलिकप्टर धनगढी आइपुगेको जानकारी छ तर डा केसीले आफु कुनै पनि हालतमा काठमाडौं नजाने बताउनुभएको छ, यदि लैजान जबरजस्ती गरेमा यसलाई अपहरण मान्ने भन्नु भएको छ’, उनका सहयोगी जैसीले भने ।

डा. केसीको स्वास्थ्य जटिल बन्दै गएको र उनको पेटमा कडा खालको अल्सर भएको आशंका उनि उपचाररत सेती प्रादेशिक अस्पतालले गरेको छ। डा. केसी अस्पतालको आईसीयुमा भर्ना छन् ।

डा. केसीलाई कैलालीका प्रमुख जिल्ला अधिकारी किरण थापासहितको टोलीले अस्पताल पुगेर उपचारका लागि काठमाडौं जान आग्रह गरे पनि उनले मानेका छैनन् ।

स्वास्थ्यमा जटिलता देखिएपछि उनलाई अस्पतालले कुनै सुविधासम्पन्न अस्पतालमा लैजान भनिसकेको छ । उनको शरीरमा नौ दिनसम्म अनशन रहँदा पोषणतत्व र पानीको असन्तुलन भई बेहोस हुन सक्ने चिकित्सकहरुको भनाई छ ।

औषधि सेवन नगर्दा उनको स्वास्थ्य गम्भीर भएकाले प्रादेशिक अस्पतालले आज बिहान एक विज्ञप्ति जारी गर्दै डा. केसीलाई विशिष्ट स्वास्थ्य सुविधा भएको अस्पतालमा लैजान सामाजिक विकास मन्त्रालय, राष्ट्रिय मानवअधिकार आयोग र संघीय स्वास्थ्य मन्त्रालयलाई जानकारी पठाएको छ । त्यस लगत्तै सेनाको हेलिकोप्टर उनलाई लिन धनगढी एयरपोर्टमा पुगिसकेको छ तर, डा. केसीले जान मानेका छैनन्।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार