काठमाडौं । दार्चुलामा हिमपहिरोमा परेका मध्ये ३ जनाको शव भेटिएको छ । जिल्लाको ब्यास गाउँपालिका–१, बोलिनमा मंगलबार अपराह्न गएको हिमपहिरोमा पुरिएका ६ जना मध्ये ३ जनाको शव भेटिएको हो ।
हिमपहिरोमा पुरिएका अन्यको नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको टोली खोजी कार्य जारी राखेको प्रहरीले जनाएको छ । मृतकमध्ये एक जनाको मात्र सनाखत भएको छ । ‘एक जना जुहु–४ का १८ वर्षीय प्रविण कुँवर रहेका छन् भने अन्य दुई जना महिलाको पहिचान खुलिसकेको छैन ।
सशस्त्र प्रहरी बलका अनुसार दिउँसोदेखि जम्मा १२ जना बेपत्ता थिए । तीमध्ये ६ जनाको सशस्त्र प्रहरी बलको छाङ्रुस्थित गुल्म नम्बर ५० ले उद्दार गरेको छ । तर, हिमपात जारी रहेका बेला अध्याँरो समेत भएपछि खोजीमा गएको टोली राति फर्किएको थियो । बिहानैबाट फेरि खोजी तथा उद्दार कार्य सुरु भएको थियो ।
सशस्त्र प्रहरीका अनुसार १२ जना नै यार्सागुम्बा खोज्न बोलिनतिर गएका थिए । घटना भएको स्थान सशस्त्र प्रहरीको छाङ्रु गुल्मबाट करिब ५ किलोमिटर दक्षिणतर्फ पर्छ । तर बाटो भिरालो र अफ्ठ्यारो भएकाले घटना भएको स्थान पुग्न साढे ३ घन्टा लाग्ने बताइएको छ ।