हरितालिका तीज पर्व मनाइँदै


काठमाडौं । आज हरितालिका तीज पर्व । नेपाली हिन्दु महिलाहरुले व्रत बसेर रमाइलोका साथ मनाउँदै छन् । हरेक वर्ष भाद्र शुक्ल तृतीयाका दिनमा मनाइने हरितालिका (तीज) पर्वमा देवादिदेव महादेवको पूजा आराधना गरी मनाइन्छ । भदौ शुक्ल तृतीयामा व्रत बसी शिव पार्वतीको पूजा, उपासना गरेमा पारिवारिक सुख, शान्ति र कल्याणको प्राप्ति हुने धार्मिक विश्वास छ ।

सत्ययुगमा हिमालय पुत्री पार्वतीले गौरीघाटमा बसी तपस्या गरेर श्री महादेव पति पाउने वरदान पाएको विश्वासमा यो व्रत सुरु भएको पौराणिक मान्यता छ । वरदानविपरीत पार्वतीका पिता हिमालयले पार्वतीको इच्छाविपरीत विष्णुसित विवाह गरिदिन खोजेपछि साथीहरूलाई आफ्नो समस्या सुनाइन् ।

पार्वती समस्यामा परेको थाहा पाएपछि उनका साथीहरूले हरण गरेर लगी कसैले नदेख्ने ठाउँमा लुकाएर राखिदिए । साथीहरूले लुकाएकै ठाउँमा पार्वतीले निराहार व्रत गरी महादेवलाई पतिका रूपमा प्राप्त गरिन् । यसरी पार्वती साथीहरूद्वारा हरण भएको दिन भाद्र शुक्ल तृतीयको दिन भएकाले त्यही समयदेखि हरितालिका (तीज( को व्रत लिने प्रचलन सुरु भएको धर्मशास्त्रीय विश्वास छ ।

सोही विश्वासलाई आत्मसाथ गर्दै हिन्दु महिलाहरुले तीज मनाउने गर्दछन् । तीजको अवसरमा नेपालका पशुपति लगाएत शिवका मन्दिरहरुमा विहानै देखि महिलाहरुको भिड देखिएको छ ।

 

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार