झापा। नेकपा एमालेको भातृसंगठन युवा संघको कार्यक्रममा सहभागी हुन गएकाहरुको गाडीहरु तोडफोड भएको छ । आज दिउँसो झापाको अर्जुनधारामा युवा संघ नेपाल अर्जुनधारा नगर कमिटीको अधिवेशन मा प्रमुख अतिथि रहेका एमाले युवा नेता महेश बस्नेत सहभागी कार्यक्रम विथोल्ने प्रयास हुनका साथै गाडीहरु तोडफोड भएका हुन् । कार्यक्रम विथोल्न थालेपछि तनाव सिर्जना भएको प्रहरीको भनाई छ ।
कार्यक्रम बिथोल्न गएका मेडिकल व्यवसायी दुर्गा प्रसाईका सर्मथकहरुले सडक छेउमा पार्किङ गरिएका गाडीहरु तोडफोड गरेका हुन् । तोडफोडमा पहिचानवादी पक्षधरहरु पनि सामेल रहेको बताइएको छ ।
प्रर्दशनकारीहरु कार्यक्रम स्थलसम्म जान नपाएपछि कार्यक्रम स्थल आसपास पार्किङ गरिएका गाडीहरु तोडफोड गरिएको झापा प्रहरीको भनाई ।
प्रहरीकाअनुसार गाडी तोडफोडबाट सात वटा गाडीका सिसा फुटेका छन् । नेता बस्नेत आएको थाहा पाएपछि व्यवसायी दुर्गा प्रसाईं पनि अर्जुनधारा पुगेको बताइएको छ । कार्यक्रमस्थल आसपासमा उनका समर्थकहरुले नारावाजी गर्दै तोडफोड गरेको बताइएको छ । कार्यक्रम स्थलमा अवस्था बिग्रिन नदिन प्रहरीले विभिन्न ठाउँमा प्रर्दशनकारीहरुलाई रोकेको थियो । त्यसक्रममा लाठी चार्ज र दुई राउण्ड अश्रुग्याँस समेत प्रहार गर्नु परेको जिल्ला प्रहरी कार्यालय झापाका एसपी दुर्गाराज रेग्मीले बताए ।
स्मरण रहोस केहि दिनअघि व्यवसायी प्रसाइलाई युवा संघका कार्यकर्ताहरुले काठमाडौंमा कालोमोसो दलेपछि प्रसाईले त्यसको छिट्टै पैंचो तिरिने बताएका थिए ।