खुला कविता प्रतियोगितामा कवि बलदिप प्रभाश्वर प्रथम

काठमाडौं । काठमाडौंमा सम्पन्न खुला कविता प्रतियोगितामा कवि बलदिप प्रभाश्वर चाम्लिङ प्रथम भएका छन् । एकीकृत सरकारी कर्मचारी संगठन, नेपाल र सहिद मनोज–झपेन्द्र स्मृति प्रतिष्ठानको संयुक्त आयोजनमा सोमबार काठमाडौंमा सम्पन्न खुला कविता प्रतियोगितामा चाम्लिङ प्रथम भएका हुन् । उनको ‘टाउको तातिएपछि’ शिर्षकको कविताले प्रथम स्थान हासिल गरेको छ ।

प्रतियोगितामा गौरव न्यौपानेको ‘मेरो त छानो चुहिन्छ’ शिर्षको कविता दोस्रो र प्रशान्त पराजुलीको ‘मेरो बा कहिल्यै थाकेनन्’ शिर्षकको कविता तेस्रो भएको छ । त्यस्तै प्रतियोगितामा रुविना रानाको ‘कलियुगकी सीता’ र संयोग बस्यालको ‘आर्तनाद’ शिर्षकको कविताले सान्त्वना स्थान प्राप्त गरेका छन् ।

प्रतियोगितामा नेपाल प्रज्ञा प्रतिष्ठानका सदस्य डा. कौशिला रिसाल, कवि अभय श्रेष्ठ र कवि केशव सिलवाल निर्णायक रहेका थिए ।
प्रतियोगितामा भाग लिन देशभरीबाट १६२ वटा कविता प्राप्त भएपनि त्यसबाट निर्णायकहरुले उत्कृष्ट २० वटा कविताबीच प्रतिस्पर्धा गराएको आयोजक एकीकृत सरकारी कर्मचारी संगठन, नेपालका महासचिव प्रकाश राईले जानकारी दिए ।

कार्यक्रम सहिद मनोज–झपेन्द्र स्मृति प्रतिष्ठानका अध्यक्ष मोहन कुमार घिमिरेको सभापतित्व र नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति भुपाल राईको प्रमुख आतिथ्यमा सम्पन्न भएको हो । प्रतियोगिताका विजेताहरुलाई नगदसहित सम्मान पत्र प्रदान गरिएको छ । कार्यक्रममा विभिन्न क्षेत्रका ब्यक्तित्वहरुलाई पनि सम्मान पत्र प्रदान गरिएको महासचिव राईले बताए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार