काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले यसपटक आफु विशेष उदेश्यसहित प्रधानमन्त्री भएको बताएका छन् । आज ‘स्टार्ट अप नेसन’ २०३० लाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यसपटक आफु झण्डा हल्लाउन मात्रै नभई विशेष उदेश्यसहित प्रधानमन्त्री भएको बताएका हुन् । उनले प्रविधि, सीप र पुँजीका आधारमा सिंगो देशलाई उत्पादनमा परिणाम देखिने गरी उद्यमशीलतामा लाग्न आग्रह पनि गरे।
प्रधानमन्त्री ओलीले आफुलाई यो उमेरमा प्रधानमन्त्री भएर खाली झण्डा हल्लाउने रहर नभएर केही गर्ने उदेश्यसहित सरकारमा आएको दावी गरे ।
उनले साना साना पुँजीबाट उत्पादन वृद्धि हुने धेरै उद्योगहरु स्थापना र विस्तार गर्नुपर्ने बताए। प्रधानमन्त्री ओलीले नवीन र सिर्जनशील सोचका साथ युवा र महिलाहरूले कामका लागि विदेश नगई स्वदेशमै रोजगारी र आयका अवसर खोज्न सक्ने समेत बताए ।
प्रधानमन्त्री ओलीले उद्यमलाई सम्पत्ति राखेर नभई परियोजनाका आधारमा बैंकले ऋण दिनुपर्ने आग्रह गर्दै केही ठग तत्वहरू सहकारीमा छिरेर समग्र सहकारीलाई बदनाम गरेको समेत बताए ।