
काठमाडौँ । तीनकुने घटनामा दुर्गा प्रसाईसहित ७ जनालाई थुनामा पठाउने आदेश भएको छ ।
काठमाडौँ जिल्ला अदालतबाट हिजो अबेर राती आएको आदेशमा प्रसाईसहित ७ जनालाई थुना र ३२ जनालाई धरौटीमा रिहा गरेको छ भने राप्रपाका नेताहरु रविन्द्र मिश्र र धवलशमशेरलाई फरार सूचीमा राखेको छ ।
गत चैत १५ गते काठमाडौँको तीनकुनेमा भएको राजावादीको हिंसात्मक प्रदर्शनमा संलग्न रहेको भन्दै आन्दोलनका जनकमान्डर भनिएका दुर्गा प्रसाद प्रसाईं, तारा राजावादी भन्ने सरोज गौतम, अनुप राजावादी भन्ने गोकर्ण शाही, डण्डपाणी रेग्मी, केशव बस्नेत, कुमार तामाङ र सुशील बराललाई थुनामा राख्न आदेश भएको जिल्ला अदालतका सूचना अधिकारी दीपककुमार श्रेष्ठले जानकारी दिए ।
अदालतका न्यायाधीश ध्रुवराज कार्कीको एकल इजलासले गरेको आदेशमा आन्दोलनमा संलग्न अन्य ३२ जनालाई धरौटीमा छोडेको छ ।
सरकारी वकिलको कार्यालयले प्रसाईंसहित ५० र ११ जनाको छुट्टाछुट्टै अभियोग पत्र बनाएर मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा ३२ बमोजिम जेठ ११ गते मुद्दा दायर भएको थियो ।
आदेशमा राप्रपा महामन्त्री एवम् सांसद धवल शमशेर राणा र राप्रपा वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रलाई फरार सूचीमा राखेको छ । उनिहरु लगायत अदालतबाट हाजिरी जमानीमा छुटेका ११ जना अहिले सम्पर्कमा छैनन् ।
तीनकुनेको राजावादीको हिंसात्मक प्रर्दशनमा अभिन्युज टेलिभिजनका पत्रकार सुरेश रजकको आगोले जलेर र कीर्तिपुर–४ का सविन महर्जनको गोली लागेर मृत्यु भएको थियो ।
हिंसात्मक प्रदर्शनमा निजि घरहरु, सवारी साधनहरुमाथि आगजनी, तोडफोड गर्नुका साथै भाटभटेनीमा लुटपाट समेत भएको थियो । त्यसपछि सरकारले घटनामा संलग्नहरुलाई पक्राउ गरेर कार्बाही प्रकृया सुरु गरेको थियो । आन्दोलनका कमाण्डर भनिएका दुर्गा प्रसाईलाई भारतबाट पक्राउ गरेर ल्याइएको थियो । प्रसाई तीनकुनेमा हिंसात्मक घटना लगत्तै प्रहरीलाई किच्नेगरी गाडी हुँइकाएर भागेका थिए ।












