किसान नेता शहिद भीमदत्तको ६७औँ स्मृती दिवस मनाइँदै, को हुन भिमदत्त ?

काठमाडौं । किसान नेता शहिद भीमदत्त पन्तको आज ६७औँ स्मृती दिवस मनाइँदैछ। दिवसको अवसरमा शहिद पन्तको जन्मस्थल डडेल्धुरा लगायत अन्य ठाँउमा विविध कार्यक्रम गरी उनको सम्झना गरिदैछ।

किसान नेताका रुपमा निकै चर्चित शहिद पन्तको वि.स. २०१० साउन १७ गते टाउको काटी हत्या गरिएका थियो। सोही सम्झनामा सहिद भीमदत्त स्मृती प्रतिष्ठानले हरेक बर्ष स्मृती दिवस मनाउदै आएको छ।

स्मृती दिवसको अवसरमा बिहान ७ बजे डडेल्धुरा सदरमुकाम बागबजारस्थित पन्तको शालिकमा माल्यार्पण गरिएको छ। यस्तै साँझ ७ बजे दिवप्रज्वलन गर्ने कार्यक्रम रहेको भीमदत्त स्मृति प्रतिष्ठानका सचिव विरेन्द्र बस्नेतले जानकारी दिए।

नेपाली जनताको मुक्ती र सर्वहारा बर्गको पक्षमा लड्दा लड्दै हत्या गरिएका पन्तलाई सरकारले शहिदको सूचीमा राखेको थिएन । किसान नेता पन्तलाई शहिद घोषणा गरिनु पर्ने आवाज लामो समयदेखि उठ्दै गरेपछि सरकारले बाध्य भएर २०७२ फागुन १९ गते पन्तलाई शहिद घोषणा गरेको थियो । नुन आन्दोलनबाट चर्चामा आएका शहिद पन्तलाई तात्कालिन शासकहरुले हत्या गर्न लगाएका थिए ।

बिद्रोही भीमदत्त
सामाजिक हिसावले सम्पन्न र उच्च बर्गमा जन्मिएका भिम दत्त पन्त आफैमा एक बिद्रोही स्वभावका ब्यक्ती थिए । उनले गरिब, किसान र दलितका पक्षमा फौज नै खडा गरेर तात्कालिन शासकहरु बिरुद्ध ससत्र आन्दोलन नै गरेका थिए ।

किसान नेता शहिद पन्त डडेल्धुराको अमरगढी–२ कारीगाउँमा सन् १९८३ मंसिर १० गते जन्मेका हुन । उत्तरप्रदेश भारतको सिन्हाईबाट संस्कृत बिषयमा हाइस्कुलसम्मको अध्ययन गरेका पन्त मार्क्सवादबाट प्रेरित थिए। पढाई सकेर फर्केपछि डडेल्धुराको विरखम्म, तल्लो सोरठ र रूपाल भन्ने ठाँउमा पाठशाला खोले। २००१ सालमा भारत पढ्न गएका पन्त अङ्ग्रेज हटाउने आन्दोलनमा लाग्दा पक्राउ परी २००३ सालमा छुटेका थिए ।

उनि सानैदेखि सामाजिक कुरिती र सामान्ती प्रबृतीका बिरोधी थिए । समाज रहेका कुसंस्कार, विभेद र अन्यायका बिरुद्ध तिनै उत्पिडीत समुदाय र बर्गबाट उनले फौज नै खडा गरि बिद्रोहमा उत्रेका थिए । समाजमा रहेका विभेद र सामन्ती संस्कारकाविरुद्ध शहिद पन्तले आफ्नै घरबाट विद्रोह सुरु गरेका थिए ।

नुन आन्दोलन
उनले गरेका क्रान्तीमध्ये नुन आन्दोलन निकै चर्चित मानिन्छ ।
पश्चिम नेपाल सुदूरपश्चिममा नुनको अभाव हुँदा उनले भारतको सिमा ब्रह्मदेबमा रहेको नुनको डिको कब्जागरी त्यहाँबाट गरिब जनतालाई सित्तैमा नुन बाँडेका थिए । त्यसपछि शहिद पन्तको उचाई र जनतामाझ झन लोकपृय बन्दै गए ।

शहिद भिम दत्तले ‘ठालु खान्ना आलु गरीब खान्ना बास्मती’ भन्ने नाराका साथ सामान्तीले बनाएका ‘तमसुक च्यात भकारी फोड’ अभियान समेत चलाए ।

किसान योद्धा भिमदत्त
समाजमा रहेका गरिब, दलित, जनजाती र कमजोर बर्गका लागि एक क्रान्तीकारी योद्धाका रुपमा लडेका शहिद भिम दत्तले किसानको पक्षमा शसक्त आवाज उठाए ।

‘जसको जोत उसको पोत, किसान जिन्दावाद–जनताको राज जिन्दावाद’, ‘कि त जोत हलो, कि त छोड थलो, यदि हैन भने अब छैन भलो’ भन्ने उनका किसानवादी चर्चित नाराहरु हुन ।

उनको शसक्त किसान आन्दोलनले पश्चिम नेपालमा रहेका जमिनदार, शोषक र सामान्तीहरुको होसहवास नै उड्ने गरेको थियो । कति जमिनदारका जग्गा उनले गरिबलाई बांडेका पनि थिए ।

परिर्बतनका संवाहक भिमदत्त
समाजमा रहेका हरेक किसिमका विभेद र उत्पिडनका बिरुद्ध शहिद भिम दत्त क्रान्तीकारी ढंगले लागेका थिए । समाज परिर्वतनका उनि संवाहक नै थिए । समाजका दबाएर, शोषण गरेर विभेदमा राखिएका दलित, जनजाती र गरिब परिवारबाट उनले बिद्रोही सेना नै बनाएका थिए ।

जसले त्यहाँका मठ मन्दिर, साहु महाजनका घरभित्र दलित प्रवेश गराउने र उनको हातको पानी खुवाउने काम सकेत गरेका थिए ।
महिलामाथी गरिने शोषण, अन्याय र विभेदको पनि शहिद भिम दत्त खरो बिरोधी थिए ।

भिमदत्तको राजनीतिक यात्रा
भारतबाट नेपाल फर्किसकेपछि शहिद भिमदत्त बि.स.२००६ सालमा नेपाली कांग्रेसको सदस्यता लिए बताइन्छ। त्यसपछि बि.स.२००८ सालको किसान आन्दोलनमा मतभेद आएपछि उनले काङ्ग्रेस पार्टी छोडे।

त्यसपछि कम्युनिष्ट पार्टीतिर लगाव राख्दै गरेका पन्तले बि.स. २००९ सालमा काठमाडौं आएर कम्युनिष्टहरुको सरसंगत गरे।

शहिद भीमदत्त पन्तले २००७ सालदेखि आन्दोलनको शुरुवात गरेका थिए । गरीब दलित जनजाती किसानहरुलाई संगठित गरी राणा बिरोधी आन्दोलनमा समेत भीमदत्त पन्तको ठूलो भूमिका रहृयो ।

भिमदत्तका चर्चित गीत
आफ्नो क्रान्तीको समयमा शहिद भिम दत्तले केहि देशभक्ती र जागरण गीत पनि गाए, जो जनमानसमा लोकपृय छन् । “उठ जाग रे, नेपाली नवजवान जाग रे, नेपालमा तमु म, नेपाल देशलाई स्वतन्त्र बनाँउ रे” जस्ता देशभक्तिपुर्ण गीत भिमदत्तका लोकपृय छन् ।

त्यसैगरी स्थानिय डोटेली भाषामा उनले गाएका लेखेका गीत पनि उत्तिकै चर्चित छन् । “बम्बै जाने रेलगाडीमा दिल्लीको माल आयो, गरीबका दिन आया ठालुको काल आयो “ यो उनको बहुचचिर्त गीत हो ।

भिमदत्तको हत्या, एक क्रान्तीको युगको अन्त्य
गरिब, दलित, उत्पिडीत सबैका आँखाको नानी बन्न सफल शहिद भिम दत्त पन्तको अन्तमा हत्या भयो । उनका गतिविधीबाट तात्कालिन शासकहरु त्रसित भएपछि उनलाई मार्ने षड्यन्त्रका वाबजुत भिमदत्तलाई बि.स.२०१० साल श्रावण १७ गते हत्या गरियो ।

उनलाई डडेलधुराको जोगबुढास्थित बिर्खम्म भन्ने जंगलमा गोली हानी मारिएको बताइन्छ । त्यस ठाँउमा भिमदत्त लुकेको भनि उनि निकट साथी (मित) नै सामन्तीहरुलाई खबर दिएको बताइन्छ । उनलाई मार्न भारतबाट समेत सैनिक बोलाईएको थियो ।

स्थानीय सामन्तीहरूको सहयोगमा भिमदत्तको टाउको काटेर डडेल्धुराको बागबजारमा झुन्ड्याइएको थियो । जुन घटनाले अहिले पनि सिंगो सुदूरपश्चिमेली जनता दुखी छन् ।

भिमदत्तको क्रान्तीको कदर गर्दै उनलाई शहिद घोषणा गरिनुपर्दछ भन्ने आसय बोकेको यो डोटेली कविता पनि हेर्नुहोस ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार