सरकारद्धारा स्व. अधिकारीको स्मृतिमा ‘रवीन्द्र स्मृति पर्यटन पुरस्कार’ स्थापना गर्ने घोषणा

 


काठमाडौँ । सरकारले तत्कालीन संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारीको स्मृतिमा ‘रवीन्द्र स्मृति पर्यटन पुरस्कार’ स्थापना गर्ने घोषणा गरेको छ ।

एक वर्ष अघि ताप्लेजुङमा हेलिकप्टर दुर्घटनामा ज्यान गुमाएका अधिकारीको पहिलो स्मृति दिवसका अवसरमा बिहीबार मन्त्रालयमा आयोजित कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले पुरस्कार स्थापना गर्ने घोषणा गरेका हुन् ।

पर्यटन क्षेत्रमा विशेष योगदान पु¥याएका व्यक्तिलाई हरेक वर्ष उक्त पुरस्कार प्रदान गर्नेगरी मन्त्रालयले कार्यविधि बनाउने काम गरिरहेको उनको भनाइ छ ।

उक्त पुरस्कार अर्को वर्षबाट अधिकारीकै स्मृति दिवसका दिनदेखि वितरण गर्न सुरु गरिने मन्त्री भट्टराईले जानकारी दिए ।

गत वर्ष फागुन १५ गते आजकै दिन तेह्रथुमको चुहानडाँडामा निर्माण हुन लागेको विमानस्थलको अवलोकनपछि काठमाडौं फर्कने क्रममा तत्कालिन मन्त्री अधिकारी सहित सात जना सवार हेलिकप्टर ताप्लेजुङमा दुर्घटना हुँदा निधन भएको थियो ।

स्व. अधिकारीको शालिक अनावरण

यसैबीच, बिहीबार बिहान स्व. अधिकारीको शालिक अनावरण गरिएको छ ।
पोखरा जिल्लाको पोखरा महानगरपालिकाका १८ जामुनबोटमा बन्दै गरेको सहिद पार्कमा अधिकारीको शालिकको अनावरण गरिएको हो ।

सहिद पार्कको पूर्वी भागमा ठडिएको पूर्ण कदको रंगीन शालिकको गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ, आन्तरिक मामिला तथा योजनामन्त्री हरिबहादुर चुमान, उनकी धर्मपत्नी विद्या भट्टराई, पोखरा महानगरपालिकाका मेयर मानबहादुर जीसी लगायत अन्य सहभागीहरुले शालिकमा माला अर्पण गर्दै स्मरण गरेका थिए ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार