
काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले परिवर्तन नरुचाउनेले माओवादी सकिनुपर्छ भनेको बताएका छन् ।
‘ज्योति स्पर्श र रातो बारुदु’ नामक पुस्तक लोकार्पण कार्यक्रममा आज बोल्दै अध्यक्ष प्रचण्डले सामाजिक विभेद र अत्याचारलाई पुर्नस्थापना गराउन चाहनेहरुले माओवादी नसकिए देशले सुख नपाउने भनिरहेको बताए ।
‘हिजोका सरकारका कतिपय ठूल्ठूला महान् विद्वान्, कर्मचारीतन्त्रका ठूला भन्नेहरूले माओवादी नसकिँदासम्म यो देशले सुख पाउँदैन भनेको सुन्नु भएको छ नि हिजो अस्तिमात्रै, को हुन् ती मान्छेहरू ? सामाजिक विभेदलाई रुचाउने, सामन्ती उत्पीडन र अत्याचारलाई पुनर्स्थापित गर्न चाहने, महिलालाई विशेषाधिकार दिने या महिलाको प्रतिनिधित्व, दलित महिलाको प्रतिनिधित्व राज्यका विभिन्न क्षेत्रमा हुनुपर्छ भन्नेहरूलाई सिध्याएपछि हुन्छ के ?,’ प्रचण्डले प्रश्न गरे ।
जुन वर्ग र समुदायका लागि आफू लडेको हो ती समुदायका मानिसहरु पनि माओवादी सकिनुपर्छ भन्नेहरूको समर्थनमा लागेको देख्दा आफूलाई अचम्म लाग्ने गरेको प्रचण्डको भनाइ थियो ।
‘दुर्भाग्य के छ भने जुन वर्ग, समुदायका निम्ति भनेर हामी लडाइँ लड्यौँ, त्यो वर्ग, समुदाय पनि जानेर वा नजानेर आफूलाई नै अत्याचार गर्नेहरूको पछिपछि लागेर ताली पिट्दै हिँडेको देख्दा मलाई कहिलेकाहीँ बडो नमीठो लाग्छ । के भएको होला भन्ने महसुस हुन्छ,’ उनले भने ।
दाहालले परिवर्तन नचाहने व्यक्ति र राजनीतिक दलहरूले संघीयता उल्ट्याउन चाहेको, जातीय विभेदको अन्त्य गर्ने विद्रोहलाई बदनाम गर्न खोजेको पनि आरोप लगाए ।















