
काठमाडौं । चर्चित हाँस्य टेली श्रृङ्खला “भद्रगोल” आजबाट फेरि प्रसाराण हुने भएको छ । विभिन्न कारणबस प्रसारण बन्द रहेको भद्रगोल नयां ब्यवस्थापनका साथ सुरु हुन लागेको प्रस्तुतकर्ता मिडिया हबले जनाएको छ ।
भद्रगोलका चर्चित हाँस्य कलाकार अर्जुन घिमिरे ‘पाँणे’, कुमार कट्टेल ‘जिग्री’, सागर लम्साल ‘बले’, हरिश निरौला ‘कक्रोज’ र दिपक आर्चाय ‘काकु’ले संयुक्त रुपमा भद्रगोल छोडेपछि प्रसारण हुन बन्द भएको थियो ।
उनिहरुले भद्रगोलमा पारिश्रमिक लगायत आर्थिक पक्ष देखाउदै भद्रगोलबाट अलग भएको सामाजिक संजालमार्फत दर्शकलाई जानकारी दिएका थिए ।
बिगत तीनबर्षदेखि नेपाल टेलिभिजन र युटुबमार्फत नियमित प्रसारण हुँदै आएको भद्रगोललाई जिग्री र पाँणेले निर्देशन गर्दै आएका थिए भने स्कृप्टमा काकुले सहयोग गर्दै आएका थिए । उनिहरु सबैले संयुक्तरुपमा भद्रगोल छोडेपछि बन्द भएको थियो ।
अब आउने नयां भद्रगोलका श्रृङ्खलाहरु भद्रगोलकै कलाकार ज्योती काफ्ले (नक्कली बाबुराम भट्टराई) र अशोक धिताल ‘बाहुन डन’ले निर्देशन गर्नेछन् । नयां श्रृङ्खलाहरु पनि पहिलाको जस्तै भरपुर मनोरंजनात्मक र समाजका गलत कुराहरुमाथि ब्यँग्यात्मक हुने निर्देशक बाहुन डनले बताए ।
उनिहरु लगायत अन्य कलाकारहरुको अभिनय भद्रगोलमा फेरि देख्न पाइनेछ । अब आउने नयां भद्रगोलका श्रृङ्खलाहरु पनि हरेश शुक्रबार पुरानै समय ८ः३० मा नेपाल टेलिभिजनबाट प्रसारण हुनेछन् ।














