
विराटनगर । मोरङमा उपचार नपाएर एक गर्भवती महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा जिल्लाको कानेपोखरी गाउँपालिका ५ कि २३ वर्षीय सविना थापा दर्जी रहेकी छन् ।
मंगलबार राति शौचालयमा लडेकी उनलाई बुधबार अवस्था गम्भिर भएपछि उपचारका लागि विराटनगर ल्याइएको थियो । पेटमा ७ महिनाको गर्भ रहेकी उनको बुधबार रातभर विराटनगरका अस्पताल डुलाउँदा भर्ना नगरेपछि धरान पुर्याइयो । त्यहाँ उनको उपचारकै क्रममा मृत्यु भएको आफन्तले बताएका छन् ।
उपचारका लागि उनलाई आफन्तले विराटनगरको नोबेल मेडिकल कलेज, विराट मेडिकल कलेज, विराट नर्सिङहोम, ग्रीनक्रस, कोशी अस्पताल, सुरक्षा अस्पताल पुर्याए । तर कुनै अस्पतालले भर्ना गर्न मानेनन् । बिहीबार बिहान करिब २ बजे धरान लगिएकी सबिनाको केही समयपछि मृत्यु भएको हो ।
अस्पतालले विभिन्न बहानामा उपचार गर्न नमानेपछि समयमै उपचार नपाएर उनको मृत्यु भएको आफन्तले बताएका छन् ।












