
काठमाडौं । संविधानविद् प्राध्यापक पूर्णमान शाक्यले सरकारले समावेशिताको खिल्ली उडाएको बताएका छन् ।
नयाँ संविधान लागु भएको पाँच वर्ष पूरा भएको अवसरमा साझा पार्टीले आयोजना गरेका अन्तरकृया कार्यक्रममा बोल्दै संविधानविद् प्रा. शाक्यले “नेपालको संविधान २०७२ : अभ्यास , अवसर र चुनौति” शीर्षकमा विश्लेषणात्मक बिचार ब्यक्त गरेका हुन ।
उपत्यका विशेष साझा अभियानले आयोजनामा गरेको उक्त अन्तरकृयामा वरिष्ठ अधिवक्ता समेत रहेका प्रा. शाक्यले कुनै पनि राष्ट्रको संविधान विश्वकै सर्वश्रेष्ठ वा देशको निकृष्ट संविधान नहुने भन्दै देशको समस्या समाधान गर्ने संविधानलाईनै राम्रो संविधान भन्न मिल्ने बताए ।
संविधानको भावना विपरित सरकारले पार्टीगत, गुटगत र निश्चित स्वार्थ अनुरूप कतिपय निर्णय गरेको भन्दै उनले सरकारको आलोचना समेत गरे ।
‘सरकारले राष्ट्र हितको कुरामा ध्यान दिन नसक्नु दुःखको कुरा हो, संविधानविद् प्रा. शाक्यले भने संविधान सर्वस्विकार्य बनाउनु पर्दछ ।’
कार्यक्रममा बोल्दै साझा पार्टीका नेता प्रकाशचन्द्र परियारले संविधानको मूल मर्म र भावना बमोजिम सरकारले काम गर्न नसकेको भन्दै संघीयता, समावेशिता, जनजिविका, शिक्षा र स्वास्थ्य क्षेत्रमा संविधानले दिएको अधिकार बमोजिम काम नभएको टिप्पणी गरेका थिए ।













