
रुकुम । रुकुमको सोती नरसंहारका आरोपित वडाअध्यक्षसहित २३ जना पुर्पक्षका लागि जेल चलान भएका छन् । बुधबार जिल्ला अदालत रुकुमले वडाध्यक्षसहित २३ जनलाई पुर्पक्षका लागि जेल चलान, किशोरीकी आमालाई १ लाख धरौटीमा रिहा, ३ जनालाई साधारण तारेखमा छोड्न आदेश दिएको हो ।
मुद्धाका बिषयमा दुईदिनसम्म दुबैतर्फका वकिलहरुको वहशपछि न्यायाधीश विद्याराज पौडेलको इजलासबाट यस्तो आदेश आएको अदालतका स्रेस्तेदार कृतबहादुर बोहराले जानकारी दिए।
आदेशमा घटनाका आरोपितहरु इन्द्रबहादुर मल्ल, तिलबहादुर मल्ल र दिपेन्द्र चन्दलाई साधारण तारेखमा छाड्न भनिएको पीडितका तर्फबाट वहश गरेका अधिवक्ता आरसी गौतमले बताए । घटनामा किशोरीसहित दुई जनालाई यसअघि नै बाल सुधार गृहमा पठाइएको थिया भने घटनाका ५ जना आरोपित अझै फरार छन् ।
चौरजहारी नगरपालिका ८ सोतीमा रहेकी मल्ल थरकी पे्रमिकालाई भगाएर विहेगरी ल्याउन गएका जाजरकोटका नवराज विकसहित उनका साथीमाथि किशोरीका आफन्त र गाउँलेले आक्रमण गरी जेठ १० गते साँझ नवराजसहित ६ युवाको हत्या गरेका थिए ।
अन्तरजातिय प्रेमका कारण उत्पन्न घटनामा संलग्न रहेको भन्दै प्रहरीले सोतीका वडाअध्यक्षसहित ३४ जनाविरुद्ध मुद्धा दायर गरेको थियो ।









