काठमाडौं । नेकपा एमालेकी सांसद रामकुमारी झाँक्रीले अघिल्लो सरकारले गरेका जनविरोधी कामलाई खारेज गर्नुपर्ने बताएकी छन् ।
मंगलबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले अहिलेको सरकारले अघिल्लो सरकारका जनविरोधी कामलाई खारेज गर्नुपर्ने बताएकी हुन् ।
बर्तमान सरकारले संविधानलाई ट्रयाकमा राख्ने र लोकतन्त्रलाई सही बाटोमा हिँडाउँने दायित्व मात्र बोकेर नपुग्ने भन्दै उनले अघिल्लो सरकारले गरेका गलत कामलाई सुधार गर्नुपर्ने बताइन् ।
अघिल्लो सरकारले झापाको गिरिबन्धु टि स्टेटको हदबन्दी भन्दा बढी जग्गा बिक्री गर्न पाउने गरी गरेको निर्णय खारेज गर्नुपर्ने नेतृ झाँक्रीको भनाई छ ।
‘झापाको गिरिबन्धु टि स्टेटको हदबन्दी भन्दा बढी जग्ग बिक्री गर्ने अघिल्लो सरकारको क्याविनेटको निर्णय खारेज गर्नुपर्छ भनेर झापाको एउटा प्रतिनिधिमण्डल आएको थियो, यसतर्फ सरकारको ध्यानाकर्षण गराउन चाहन्छु,’ सांसद झाँक्रीले बताइन्।
नेतृ झाँक्रीले अघिल्लो सरकारले तुइनमुक्त देश बनाउँछु भनेर गफ दिएको तर दार्चुलामा तुइनबाट खसेर नेपाली युवक बेपत्ता भएको पनि बताइन् ।
संसदमा बोल्ने अधिकांस सांसदहरुले तात्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीले देशलाई तुइन मुक्त बनाउँछु भनेर साढे तीन बर्ष सरकारमा रहँदा पनि काम नभएको उल्लेख गरेका थिए । जसको परिणाम दार्चुलामा जयसिंह धामी महाकालीमा बेपत्ता भएको उनिहरुको भनाई थियो ।