प्रेम सञ्जेलमाथि कुटपिट गर्नेको जागिर चैट, अभद्र व्यवहार मुद्दामा म्याद थप


मोरङ । सरकारी निकायमा हुने चरम भ्रष्टाचारबारे चर्को विरोध गरेर लोकपृयता कमाएका प्रेमप्रसाद सञ्जेलमाथि कुटपिट गर्ने कर्मचारी बर्खास्त भएका छन् ।

श्रम तथा रोजगार कार्यालय विराटनगर मोरङका प्रमुख रहेका सञ्जेललाई कार्यकक्षमा कुटपिट गर्ने नेत्र भट्टराई निरौला र मेनुका सापकोटा कोइरालालाई आइतबार बर्खास्त गरिएको हो ।

करार कर्मचारीका रुपमा कार्यरत नेत्र र मेनुकालाई अभद्र व्यवहार मुद्दामा म्याद थप समेत गरिएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

उनिहरुले हिजो विहान करिब ११ बजे सञ्जेलको कार्यकक्षमा प्रवेश गरि ढोकाको चुकुल लगाएर कुटपिट गरेका थिए । सञ्जेलमाथि चप्पल, पञ्जिङ मसिन लगायतले हान्दा उनको अनुहार र हातमा चोट लागेको छ ।

घटनापछि आफूमाथि कुटपिट गर्नेहरु उपर ज्यान मार्ने उद्योगमा जाहेरी दिए पनि प्रहरीले नलिएपछि अभद्र व्यवहारमा जाहेरी दर्ता गराएको र आइतबार म्याद थप गरेको जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी नायव उपरीक्षक मानबहादुर राईले जानकारी दिए ।

कुटपिट गरेपछि पक्राउ उनीहरुले सञ्जेलमाथि यौन दुर्व्यवहारको आरोप लगाएको प्रहरीको भनाई छ । तर, त्यसलाई पुष्टि गर्ने कुनै आधार नरहेको प्रहरीले बताएको छ ।

सञ्जेलले शुक्रबार मात्रै करारमा कार्यरत नायव सुब्बा निर्मलकुमार दाहाललाई कामबाट निकालेका थिए । निकालिएका दाहाल कुटपिटमा संलग्नमध्ये निरौलाका बहिनी ज्वाई नाता पर्ने हुन् । उनलाई निकालेको रिसमा आफूमाथि योजनावद्ध रुपमा आक्रमण गरिएको सञ्जेलको भनाई छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार