काठमाडौं । जाजरकोट केन्द्रबिन्दु भइ मध्यरातमा गएको भूकम्पमा परी ७५ भन्दा बढीको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न वडामा गरी ७५ बढीको मृत्यु भएको प्रहरीले जनाएको छ ।
त्यस्तै भूकम्पमा परी घाइते हुनेको संख्यामा पनि धेरै रहेको छ । रुकुम पश्चिममा मात्रै ३६ भन्दा बढीको मृत्यु भएको छ भने ५३ जना अस्पतालमा भर्ना भएका छन् । रुकुम पश्चिमका आठबिसकोट नगरपालिका र सानीभेरी गाउँपालिका भूकम्पले बढी प्रभावित भएका छन् । भूकम्पले घर र गोठहरु भत्किएका छन् भने सडकहरु पनि अवरुद्ध भएका छन् ।
त्यस्तै जाजरकोटमा २७ महिला र १० पुरुष गरी ३७ जनाको मृत्यु भएको छ । भूकम्पमा परी सयौँको सङ्ख्यामा मानिसहरु घाइते भएका विवरण प्राप्त भएका छन् ।
भूकम्पले जिल्लाका भेरी, नलगाड, कुशे, बारेकोट र छेडागाडमा क्षती पुर्याएको प्रहरीले जनाएको छ । भूकम्पका कारण घरहरु भत्किएको जानकारी प्राप्त भए लगत्तै उद्धारका लागि कर्णाली प्रदेश र प्रहरी कार्यालयबाट ४० र २० गरी ६० जनाको उद्धार टोली परिचालन गरिएको छ । जिल्लाका सबै सुरक्षा अङ्गहरु परिचालन गरिएका छन् ।
जाजरकोटका भूकम्पमा परी नलगाड नगरपालिकाको उपप्रमुख सरिता सिंहको पनि मृत्यु भएको छ ।
भूकम्पका कारण यहाँ विद्युत सेवा समेत अवरुद्ध भएको छ । सडक सञ्चालनमा पनि समस्या भएकाले घाइतेको उद्धारमा कठिन भइरहेको छ ।