
काठमाडौं । काठमाडौं उपत्यकामा जारी निषेधाज्ञा केही खुकुलोसहित थप एक साता थपिएको छ। आइतबार उपत्यकाका तीन प्रमुख जिल्ला अधिकारीहरूको बैठकले असार ८ गतेदेखि एक साताका लागि निषेधाज्ञा थप्ने निर्णय गरेको हो।
केही खुकुलोसहित अब काठमाडौं उपत्यकामा असार १४ गतेसम्म निषेधाज्ञा जारी रहने छ । अबको निषेधाज्ञामा निजी सवारी साधन जोर बिजोरअनुसार संचालन गर्न पाइने छ भने पसलहरु बार अनुसार खोल्न दिइने छ । निषेधाज्ञामा ट्याक्सीहरूलाई पनि जोर, बिजोर गरी चलाउन दिइने बैठकले निर्णय गरेको छ ।
त्यस्तै पसलहरु बार अनुसार खोल्न पाइने छ । सुन, भाँडाकुडा, अटो मोबाइल्स, विद्युतीय सामग्री आइतबार, मंगलबार र बिहीबार ११ देखि ४ बजेसम्म, सपिङ मल, कपडा, जुत्ता, साडी, कस्मेटिक्स, फेन्सी टेलरिङ पसल सोमबार, बुधबार र शुक्रबार ११ बजेदेखि ४ बजेसम्म खोल्न दिइनेछ।
त्यस्तै खाद्यान्न, दूध, किताबलगायतका पसलहरू बिहान ११ बजेसम्ममात्र खोल्न दिइनेछ। निर्माण सामग्रीका पसलहरू भने बिहान ११ देखि साँझ ६ बजेसम्म खोल्न दिइने छ ।
कोरोना संक्रमण रोकथामका लागि काठमाडौं उपत्यकामा बैशाख १६ गतेबाट लकडाउन गरिएको थियो ।











