मुख्यमन्त्री शाक्य नेतृत्वको सरकारको आयु कात्तिक १० सम्म


काठमाडौं । एमाले नेतृ अष्टलक्ष्मी शाक्य नेतृत्वको वाग्मती प्रदेशको सरकारको आयु एक हप्ता लम्बिएको छ । अल्पमतमा रहेकी मुख्यमन्त्री शाक्यले आज प्रदेश सभामा विश्वासको मत लिने प्रस्ताव गरेसंगै छलफल सुरू भए पनि विश्वास मत लिने प्रकृया एकहप्ता पछि सारिएको हो ।

सभामुख सानुकुमार श्रेष्ठले प्रदेशसभाको अर्को बैठक कात्तिक १० गते दिउँसो १ बजे बस्ने गरी स्थगित भएको सूचना सभामा गरेका थिए ।

प्रदेशसभामा कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी र जसपा सम्मिलित गठबन्धनको स्पष्ट बहुमत भएपछि शाक्य नेतृत्वको सरकार ढल्ने निश्चित छ ।

प्रदेशसभामा हाल १०९ (सभामुखसहित) सांसद छन् । त्यसमध्ये गठबन्धनमा आवद्ध दल माओवादी केन्द्रसंग २३, कांग्रेससंग २२, एकीकृत समाजवादीसंग १३ र जनता समाजवादीसंग १ गरी ५९ सांसद छन् । नयां सरकार गठन गर्न यो वहुमत संसद संख्या हो ।

शाक्यले बैठकमा आफ्नो नेतृत्वको सरकारले ६४ दिनमा गरेका प्रगति विवरण प्रस्तुत गर्दै मुख्यमन्त्रीमा रहिरहन विश्वासको मत मागेकी थिइन् । तर, गठबन्धनले उनलाई विश्वासको मत झन्झटमा नपरी राजीनामा गर्न आग्रह गरेका थिए ।

प्रदेशसभा ठूलो दलको हिसाबले एमालेबाट २ भदौमा मुख्यमन्त्री बनेकी शाक्यले २२ असोजमा प्रदेशसभाको सचिवालयमा विश्वासको मत लिन प्रस्ताव दर्ता गरेकी थिइन् । २४ असोजमा उनले प्रदेश सभाको बैठकमा विश्वासको मतको प्रस्ताव पेस गरेकी थिइन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार