
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले राष्ट्रपतिबाट प्रमाणीकरण गरिएको नागरिकता विधेयक राष्ट्रहितविरूद्ध रहेको बताएका छन् ।
सामाजिसंजालमा प्रतिकृया दिदैं उनले संसदमा छलफ नै नगराई सरकारले राष्ट्रपतिबाट विधेयक प्रमाणिकरण गराउनु राष्ट्रहितविरूद्ध रहेको बताएका हुन् ।
सभापति लामिछानेले विधेयक प्रमाणीकरण कार्य राष्ट्रपति जस्तो सम्मानीत संस्थाको गरिमा र लोकतान्त्रित संसदीय मुल्य मान्यता विपरित रहेको समेत दावी गरेका छन् ।
‘नयाँ जनादेशबाट नयाँ संसद बनेको ६ महिना भइसक्दा पनि संसदमा छलफल नगराइ, यसरी पूरानै विधेयक सरकारले राष्ट्रपतिबाट प्रमाणीकरण गराउनु राष्ट्रपति जस्तो सम्मानीत संस्थाको गरिमा विपरित , लोकतान्त्रित संसदीय मुल्य मान्यता र राष्ट्रहितविरूद्ध छ’, लामिछानेले सामाजिकसंजालमा लेखेका छन् ।
सरकारको सिफारीसमा राष्ट्रपति रामचन्द्र पौडेलले आज बिहान नागरिकता विधेयक प्रमाणीकरण गरेका थिए। तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीले प्रमाणीकरण नगरी अलपत्र पारेको विधेयकलाई आज बिहान उनले प्रमाणीकरण गरेका हुन् ।
विधेयक प्रमाणीकरण गर्नका लागि सरकारले जेठ १२ गते राष्ट्रपति पौडेललाई अनुरोध गरेको थियो । मन्त्रिपरिषद्को आग्रहअनुसार संविधानको धारा ६१ र ६६ बमोजिम राष्ट्रपतिले विधेयक प्रमाणीकरण गरेका हुन् ।
संसदका दुवै सदनले २०७९ साउन मै नागरिकता विधेयक पास गरेको थियो । तर तत्कालीन राष्ट्रपति भण्डारीले त्यसलाई प्रमाणीकरण नगरी साउन २९ मा सन्देशसहित प्रतिनिधिसभामै फिर्ता पठाइदिएकी थिइन् ।
त्यसपछि भदौ २० मा तत्कालीन सभामुख अग्नि सापकोटाले प्रमाणीकरणका लागि फेरि राष्ट्रपतिससमक्ष विधेयक पठाएका थिए ।












