
पाँचथर । पाँचथरमा बाढी पहिरोका कारण फसेका १२ जनाको नेपाली सेनाको हेलिकोप्टरद्धारा उद्धार गरेको छ । अविरल वर्षापछि आएको बाढी र पहिरोका कारण आइतबार रातिदेखि फसेका ३ घरका १२ जनालाई आज बिहान सेनाको हेलिकप्टरमार्फत उद्धार गरिएको हो ।
पाँचथर याङवारक गाउँपालिका १ फेदीस्थित पहिरोमा परि फसेकालाई उद्धार गरी च्याङथापुस्थित विष्णु माविमा राखिएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ ।
उद्धार गरिएकाहरुमा पाँचथर याङवारक गाउँपालिका १ बस्ने वर्ष ६० का नरमाया गुरूङ, उनको नाती वर्ष १६ का सन्दिप गुरूङ र नातिनी हिमा गुरूङको उद्धार गरिएको छ । त्यस्तै ८० वर्षीय कृष्णबहादुर गुरूङ, उनकी श्रीमती ६० वर्षीया डिकमाया गुरूङ, उनका छोरा ३५ वर्षीय काजुहाङ गुरूङ र बुहारी ३० वर्षीय सुनिता गुरूङ, ४३ वर्षीय मनबहादुर गुरूङ, उनकी श्रीमती ४४ वर्षीया मन कुमारी गुरूङ, छोरी१६ वर्षकी सुस्मा गुरूङ, सोही स्थानका ७० वर्षीय पदम बहादुर खालिङ र उनकी श्रीमती ६८ वर्षीया मनमाया खालिङ रहेको प्रहरीले बताएको छ ।












