
काठमाडौं । भृकुटीमण्डपमा “१८औँ नाडा अटो शो २०२६” को भव्य उद्घाटन गरिएको छ । नाडाको ५०औँ वार्षिकोत्सवको उपलक्ष्यमा आजदेखि ६ दिनसम्म चल्ने अटो शोको उपराष्ट्रपति रामसहाय प्रसाद यादवले उद्घाटन गरेका हुन् ।
उपराष्ट्रपति यादवले नेपालमा विधुतीय सवारी साधनको प्रयोग बढाएर नेपालबाट इन्धनमा अरबौं रकम बाहिरिने क्रम रोक्नु पर्ने बताएका छन् । विधुतीय सवारीको प्रयोग नै देशका लागि सबैभन्दा बुद्धिमानी र दिगो उपाय भएको समेत उनले बताए ।
पेट्रोल र डिजेल जस्ता इन्धन महँगो मुल्यमा विदेशबाट किन्नु पर्ने बाध्यता हटाएर विधुतीय सवारी साधनतर्फ नागरिकहरुलाई आर्कषित गर्नमा नाडाले महत्वपुर्ण भूमिका खेल्दै आएको उनले बताए । उपराष्ट्रपति यादवले विधुतीय सवारी साधन प्रयोगले वातावरणलाई स्वच्छ बनाउन पनि ठुलो टेवा पुग्ने बताए ।
कार्बन उत्सर्जनलाई शून्यमा झार्न पनि सहरी क्षेत्रको वायु प्रदूषण नियन्त्रण गर्न र जलवायु परिवर्तनका प्रतिकूल असरसँग लड्न पनि विधुतीय सवारी प्रविधि निर्णायक साबित हुनेमा उनले विश्वास व्यक्त गरे ।

विधुतीय सवारी साधन प्रयोगका लागि सडक सुधारमा देखि चार्जिङ स्टेसन विस्तारमा सरकार र निजी क्षेत्र मिलेर काम गर्नुपर्ने उनले सुझाव समेत दिए ।
नेपालको अटोमोबाइल तथा मोबिलिटी क्षेत्रको समग्र आर्थिक, सामाजिक एवं व्यावसायिक विकासको उदेश्य राखेर नाडाले हरेक बर्ष कार्यक्रम गर्दै आएको छ ।
नाडा शोमा साना र ठूला गरी २०० भन्दा बढी स्टलहरू रहेका छन् । जसमा २३ वटा ब्राण्डका पेसेन्जर कार भेहिकल (पीसीबी), १७ वटा ब्राण्डका लाइट कमर्शियल भेहिकल (एलसीभी), १३ वटा ब्राण्डका दुई पांग्रे, १० वटा वित्तीय एवं बीमा सेवा प्रदायकहरू तथा ७० वटा अटोमोटिभ पार्टपुर्जा, एसेसरिज, टायर, लुब्रिकेन्ट्स, ग्यारेज उपकरण, र अटोमोबाइल सम्बन्धी अन्य उत्पादन र सेवाहरू प्रदर्शनीमा राखिएको छ ।












