बाजुरा । यतिबेला विश्व कारोना महामारीसँग लडिरहेको छ । कोरोनाबाट लड्नकै लागि नेपाल पनि चैत ११ गतेबाट लकडाउमा छ ।
अतिआवश्यक बाहेकका सबै सेवा बन्द छन् ।
कारोनाबाट बच्नका लागि घरभित्रै बस्न सरकारले सबैलाई अनुरोध गरेको छ । घरभित्रको यही बसाईलाई सदूपयोग गरेका छन् बाजुराका महिलाले ।
सदूरपश्चिम प्रदेशको विकट जिल्लाका रुपमा मानिने बाजुराका महिलाले लकडाउनको सदूपयोग गर्दै घरमै बसेर अचार उत्पादन गरेका छन् । दिदी बहिनी उद्यमशिल समूहको सक्रियतामा घरमै बसेर लकडाउन अवधिमा मिक्स अचार उत्पादन गरेका छन् ।
मार्तडी साना किसान कृषि सहकारी संस्था लिमिटेडसँगको सहकार्य र दिदी बहिनी उद्यमशिल समूहको सक्रियतामा आफ्नै गाउँ घरमा पाइने सामाग्रीको प्रयोग गरेर मिक्स अचार उत्पादन गरेको समूहका सचिव कल्पना साउदले बताएकी छन् ।
समूहका ९ जना महिला महिलाले स्थानीय स्तरमा पाइने चोतो, मुला, गाजर, लसुन, प्याक र खुर्सानी मिलाएर मिक्स अचार उत्पादन गरेका छन् ।
लकडाउनको समयमा बाहिरको काम नभई खेर गइरहेको समयलाई सदुपयोग गर्दै अचार उत्पादन गरिएको सचिव साउदले बताएकी छन् । उनीहरुले अहिले पहिलो चरणमा ३ सय डिब्बा अचार उत्पादन गरिएको छ ।
उनीहरुले उत्पादन गरेको अचारको आज एक कार्यक्रमको आयोजना गरी सार्वजनिक पनि गरिएको छ ।