बझाङको पहिरो उद्धारमा गएको सेनाको गाडी दुर्घटना, ३ घाइते


बझाङ । बझाङको मल्लेसि पहिरो उद्धारका लागि गएको सेनाको गाडी दुर्घटनामा परेको छ । शनिवार बिहान त्यसतर्फ गएको उद्धार टोलीको गाडी सडकमा पल्टिदा दुर्घटना हुँदा ३ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ ।

घटनास्थल नजिकै पसग्दा गाडी दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय बझाङका प्रहरी नायव उपरिक्षक गणेश बमले जानकारी दिए। उनकाअनुसार घाइतेको अवस्था सामान्य छ ।

गएराती दुईबजेतीर बझाङको केदारस्युँ गाउँपालिका वडा ८ को मल्लेसिमा पहिरो जाँदा अहिलेसम्म ४ जनाको मृत्यु भइसकेको छ ।
स्थानिय जनप्रतिनिधीका अनुसार चारै जनाको शव पहिरोबाट निकालिएको छ ।

पहिरोबाट ८० वर्षीय दले जेठारा, १३ वर्षीया सन्तु जेठारा, ४० वर्षीया राममती जेठारा र उनका १२ वर्षीया छोरा प्रयाग को शव फेला परेको वडा अध्यक्ष गणेशबहादुर बोहोराले जानकारी दिए।

पहिरोमा परी मृतक राममती जेठाराकै १६ वर्षीया छोरी अस्मिता, १५ वर्षीया शान्ति र २२ वर्षीय गिरी जेठारा पुरिएको वडाअध्यक्ष बोहोराले बताए । उनका अनुसार उद्धार कार्य जारी छ । पहिरोले १८ घर बगाएको छ ।

गाउँका अन्य १७ घर उच्च जोखिममा रहेको जिल्ला प्रशासन कार्यालय बझाङका विपद सम्पर्क ब्यक्ति नन्द बहादुर धामीले जानकारी दिए ।
उनका अनुसार जिल्लाबाट खटि गएको उद्धार टोली घटनास्थल पुगेर उद्धार कार्य गरिरहेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार