काठमाडौं । नेपालमा पनि कोभिड–१९ जस्तै स्क्रब टाइफस देखिन थालेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोभिड–१९ सँग मिल्दोजुल्दो लक्षण भएको ‘स्क्रब टाइफस’ रोग देखिन थालेको जनाएको हो। मन्त्रालयले उक्त रोगसंग सचेत रहन आग्रह समेत गरेको छ ।
मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीले बताएअनुसार स्क्रब टाइफस लागेमा मानिसमा उच्च ज्वरो आउने, आँखा रातो हुनु, खोकी, वान्ता, पेट दुखाइ र पखाला लाग्नु, सास फेर्न समस्या हुनु धेरै टाउको दुख्नु जोर्नी र मांसपेशी दुख्नु, बिमिरा देखिनु, टोकेको ठाउँमा कहिलेकाहीँ कालो दागजस्ता लक्षण देखिने गर्दछ ।
स्क्रब टाइफस ‘ओरिन्सिया सुसुगामासी’ जीवाणुले सङ्क्रमित एक प्रकारको सानो किर्नाको टोकाइबाट मानिसमा सर्ने रोग हो ।
मन्त्रालयले कोभिड–१९ सँग मिल्दोजुल्दो भएकाले कोभिड–१९ परीक्षण गर्दा नेगेटिभ आए पनि स्क्रब टाइफसको परीक्षण गर्न अनुरोध समेत गरेको छ ।
मन्त्रालयले यस रोगबाट बच्नका लागि किर्नाको टोकाइबाट बच्न खेत, झाडी वा वनजङ्गलमा जाँदा लामो बाहुला भएको कपडा र उपयुक्त जुत्ता लगाउने र शरीरको खुला भागमा कीटनाशक मलमको प्रयोग गर्ने, घर वरिपरिका खेताबारीमा घाँस धेरै बढ्न नदिने र वातावरण सफा राख्ने, मुसा नियन्त्रणका लागि उपयुक्त किसिमको अन्न भण्डारण गर्नुपर्ने जनाइएको छ ।