
काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले चुनावअघि नेकपा माओवादी केन्द्रसँग पार्टी एकता नहुने बताएका छन्। आज प्रतिनिधिसभा बैठकपछि बाहिरीने क्रममा सञ्चारकर्मीलाई छोटो प्रतिकृया दिँदै पूर्वप्रधानमन्त्री समेत रहेका नेपालले माओवादीसँग मंसिरको चुनावअघि पार्टी एकताको कुनै संभावना नभएको बताएका हुन् ।
संगै मिलेर जाने बिषयमा प्रारम्भिक चरणको छलफल मात्रै भएको उनले बताए। आगामी मंसिर ४ गते हुने संघीय र प्रदेशसभा चुनावमा आफ्नै पार्टीको चुनाव चिन्ह प्रयोग गरेर चुनाव लड्ने समेत अध्यक्ष नेपालले बताए ।
‘अहिले नेकपा माओवादी केन्द्रसँग कसरी मिलेर जान सकिन्छ भन्नेबारेमा प्रारम्भिक चरणको कुराकानी थालेका छौ, एकताको कुरा चुनावभन्दा पहिले सम्भव छैन । हामी आआफ्नो चुनाव चिह्नको आधारमा चुनाब लड्छौं’, अध्यक्ष नेपालले भने।
आगमी चुनावमा नेकपा समाजवादी र माओवादीले एउटै चुनावी घोषणापत्र बनाएर चुनाव लड्ने र चुनावअघि संयोजन समिति बनाउने तयारी रहेको अध्यक्ष नेपालले बताए ।











