
काठमाडौं । निर्वाचन आयोगले सामानुपातिक सांसदहरुको सूची आज सार्वजनिक गर्ने तयारी गरेको छ । मंसिर ४ गते सम्पन्न चुनावमा दलहरुले समानुपातिक मतका आधारमा पाएको सांसद सख्याको सूची आयोगमा पठाएपछि आयोगले समानुपातिक प्रणालीतर्फबाट विजयी उम्मेदवारहरुको सूची आज सार्वजनिक गर्ने तयारी गरेको हो ।
दलहरुले समानुपातिक निर्वाचनतर्फ देशभरबाट प्राप्त मतका आधारमा आयोगले दलहरुलाई सिट बाँडफाँट गर्नेगर्छ। जसअनुसार चुनावमा नेकपा एमालेले ३४, नेपाली कांग्रेसले ३२, नेकपा माओवादी केन्द्रले १४, राष्ट्रिय स्वतन्त्र पार्टीले १३, राप्रपाले ७, जसपा र ५ जनमत पार्टीले ५र५ सिट समानुपातिकतर्फ पाएका छन् । निर्वाचन अघि नै दलहरुले बुझाएको उम्मेदवारको बन्दसूचीभित्रैबाट समावेशी सिद्धान्तका आधारमा समानुपातिक सांसद छनोट गरिन्छ । गत शनिबार दलहरुले आफूले पाएको सिट संख्या अनुुसार सांसदहरुको सूची निर्वाचन आयोगमा बुझाएका थिए ।
ती सूचीमा अहिले आयोगले छानबिन गरिरहेको छ । नमिलेकालाई मिलाउन आयोगले आज अपराह्न ४ बजेसम्मको समय दलहरुलाई दिएको छ ।
समानुपातिकको सूची सच्याएर आएपछि निर्वाचन आयोगले निर्वाचित भएको घोषणा गर्दै सांसदहरुलाई प्रमाणपत्र वितरण गर्नेछ । समानुपातिक सूची घोषणा भएको एक साताभित्र प्रतिनिधि सभा सदस्य र प्रदेश सभा सदस्य निर्वाचन परिणामसहितको प्रतिवेदन आयोगले राष्ट्रपतिसमक्ष बुझाउने तयारी रहेको जनाएको छ ।
समानुपातिक सांसद छान्दा दलहरुले आफन्त, नातागोता परिवारका सदस्य र आर्थिक चलखेल गरेको चर्चा छ । जसका कारण समानुपातिक प्रणाली नै गलतसावित गर्ने कोशिष भइरहेको जानकारहरु बताउँछन् ।












