
काठमाडौं । मलेसियाका गृहमन्त्री सैफुद्दिन नासुसन इस्माइल बिहीबार काठमाडौं आउँदै छन् । तीनदिने भ्रमणका लागि इस्माइल आज साँझ ७ बजे काठमाडौँ आइपुग्ने कार्यक्रम रहेको छ ।
इस्माइलले नेपाल भ्रमणका क्रममा थप कामदार मलेसिया पठाउने र त्यहाँ रहेका कामदारको सुरक्षा सुनिश्चित गर्ने विषयमा छलफल गर्ने बताइएको छ । मलेसियाले विभिन्न क्षेत्रका लागि करिब पाँच लाख नयाँ कामदार भित्र्याउने घोषणा गरेको सन्दर्भमा गृहमन्त्री इस्माइलले नेपाल र बंगलादेशसहित आफ्ना प्रमुख आप्रवासी कामदारका मुलुकको भ्रमण गर्न लागेका हुन् ।
नेपालको प्रमुख श्रम गन्तव्यका रूपमा चिनिने मलेसियाका गृहमन्त्री इस्माइलले ‘फरेन वर्कर इम्प्लोइमेन्ट रिल्याक्सेसन प्लान’ बारे छलफल गर्ने जनाइएको छ । उनले शुक्रबार श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्यालसँग औपचारिक भेटवार्ता गर्ने कार्यक्रम रहेको छ । त्यस्तै अर्थ, श्रम र परराष्ट्र मन्त्रालयका अधिकारीसँग मलेसियाको ‘फरेन वर्कर इम्प्लोइमेन्ट रिल्याक्सेसन प्लान’ बारे छलफल गर्नेछन् ।
मलेसियामा अहिले करिब सात लाख नेपाली कामदारहरू रहेको सरकारी आंकडा छ । उनीहरुको सुरक्षा, कामको ग्यारेन्टी र सेवा सुविधा बृद्धि गर्ने विषयमा पनि गृह मन्त्री इस्माइलले विभिन्न सरकारी निकायसँग छलफल गर्ने कार्यक्रम रहेको छ ।














