काठमाडौं । राष्ट्रपति निर्वाचनका लागि निर्वाचन आयोगले मतदाता नामावली सार्वजनिक गरेको छ । राष्ट्रपति तथा उपराष्ट्रपति निर्वाचन अधिकृतको कार्यालयले ८ सय ८१ जनाको नामावली सार्वजनिक गरेको हो ।
यसमा संघीय संसदका ३ सय ३१ र प्रदेश सभाका ५ सय ५० जनाको नाम समावेश छ । राष्ट्रपतिको निर्वाचनमा संघीय सांसद र प्रदेश सभा सदस्यहरुले भाग लिन पाउँछन् ।
सहायक निर्वाचन अधिकृत अमृता कुमारी शर्माका अनुसार प्रकाशित मतदाता नामावलीको दाबी विरोधको उजुरी आजै बिहान ११ बजेदेखि भोलि १२ बजेसम्म तोकिएको छ । सो समयमा पर्न आएका निवेदन तथा उजुरी उपर फागुन १२ गते ३ बजेसम्म छानबिन गरी ४ बजे अन्तिम नामावली प्रकाशन गरिने छ । राष्ट्रपतिको पदको लागि फागुन २५ गते निर्वाचन हुँदैछ ।