काठमाडौं । कोरिया जाने र फर्केका श्रमिकहरूका लागि ‘हामी’ नामक मोबाइल एप सार्वजनिक गरिएको छ ।
काठमाडौंमा बिहीबार आयोजित एक बिशेष कार्यक्रममा कोरियाली अन्तर्राष्ट्रिय सहयोग नियोग (कोइका) र कोरियाको मानव स्रोत विकास सेवा (एचआरडी) कोरियाले संयुक्त रूपमा एचएएमआई ‘हामी’ नामक मोबाइल एप्लिकेसन सार्वजनिक गरेको हो ।
श्रममन्त्री शरतसिंह भण्डारी, नेपालका लागि कोरियाली राजदूत ताई योङ्ग पार्कले संयुक्त रुपमा मोबाइल एपलाई सार्वजनिक गरेका हुन् । कार्यक्रममा स्विजरल्याण्डका नेपाल प्रतिनिधि, कोइकाका नेपाल प्रतिनिधि लगायत कोरियाबाट फर्केका नेपाली श्रमिकहरुको सहभागीता थियो ।
सार्वजनिक गरिएको एपले कोरिया जाने श्रमिकहरूको सुरक्षित आप्रवासन सुनिश्चित गर्न र स्वदेश फर्किएपछि उनीहरूको पुनःएकीकरणमा सहयोग पुर्याउने उद्देश्य रहेको कोइकाले जनाएको छ ।
हामी नामक एपमा विभिन्न ६ वटा बिषयहरु राखिएका छन् । जसमा वैदेशिक रोजगार सम्बन्धी जानकारी र नेपाल सरकारले यसबारे गरेका कामहरुको विवरण हेर्न सकिन्छ । एपलाई मोबाइलको प्लेस्टोरमा गएर एचएएमआई ‘हामी’ टाइप गरेर डाउनलोड गर्न सकिन्छ । एममा भएका सामाग्रीहरुलाई अँग्रेजी र नेपाली दुबै भाषामा पढ्न सकिन्छ ।
यो एपबाट रोजगार अनुमति प्रणाली (इपिएस) अन्तर्गत कोरिया जाने नेपाली श्रमिकहरूले कोरियाबारे जानकारी, वित्तीय साक्षरता र कार्यस्थल सुरक्षा सम्बन्धी तालिम जस्ता कुराहरुबारे जानकारी पाउनेछन् । त्यस्तै एपमा रोजगारीका लागि जाने देशको संस्कृति र त्यहाँको नियम, कानुनका विषयमा पनि जानकारी पाउन सकिने छ ।
कार्यक्रममा सहभागी नेपालका लागि कोरियाली राजदूत पार्कले हामी एपले श्रमिकहरूलाई निके फाइदा हुने विश्वास ब्यक्त गरे ।
एपमार्फत नेपाल-कोरियाबीचको साझेदारीमा थप बल पुग्ने उनको बताए । यो कार्यक्रम कोइकाको सन् २०२२ मा सुरू गरिएको नेपाल फर्किएका श्रमिकहरूको पुनःएकीकरण कार्यक्रमको निरन्तरता रहको कोइकाले जनाएको छ।