काठमाडौं । स्वास्थ्यमन्त्री प्रदीप पौडेलले क्यान्सरका बिरामीलाई महँगो र दुर्लभ औषधी निःशुल्क उपलब्ध हुने बताएका छन् । मन्त्री पौडेलको विशेष पहलमा अन्तर्राष्ट्रिय च्यारिटी डाइरेक्ट रिलिफले क्यान्सर लगायतका जटिल रोगीहरुलाई दिइने ३७ प्रकारका औषधि सहयोग गर्ने प्रतिबद्धता जनाएअनुसार क्यान्सरका बिरामीले अबदेखि महँगो औषधी निःशुल्क पाउने भएका हुन् ।
डाइरेक्ट रिलिफले वन हर्ट वल्र्डवाइड संस्थामार्फत नेपाल सरकारलाई पठाएको सहयोग हस्तान्तरण कार्यक्रममा बोल्दै मन्त्री पौडेलले यसतो जानकारी दिएका हुन् ।
डाइरेक्ट रिलिफले स्तन, छाला तथा विभिन्न खालका क्यान्सर उपचारमा आवश्यक पर्ने दुर्लभ र महँगा ३७ प्रकारका औषधिहरु नेपाललाई ५ वर्षसम्म सहयोग स्वरुप उपलब्ध हुने समेत मन्त्री पौडेलले जानकारी दिए ।
औषधि अभावका कारण विदेश गएर महँगो उपचार गर्नुपर्ने बाध्यता कम गर्न लामो मेहनत पछि सफलता प्राप्त भएको उनको भनाई छ ।
‘क्यान्सरको औषधि महँगो हुँदा विपन्न नागरिकलाई समस्या भइरहेको बेला राज्यको लगानीबीना नै धेरै नागरिकलाई राहत दिने प्रयास भएको मन्त्री पौडेलले बताए ।
सरकारी क्यान्सर अस्पतालमा तत्काल औषधि पठाउने व्यवस्था मिलाइएको समेत उनले जानकारी दिए। मन्त्री पौडेलले सरकारले दिने स्वास्थ्य सुविधा तथा बीमाबारे नागरिकमा पर्याप्त जानकारी नहुँदा त्यस्तो सेवामा बन्चित भइरहेकाले प्रसार प्रसारको आवश्यता रहेको बताए ।
मन्त्रालयको समन्वय महाशाखा प्रमुख डा। भीम सापकोटाले ५ वर्षसम्म नेपालको आवश्यकताअनुसार औषधि प्राप्त गर्ने गरी समझदारी भएको जानकारी दिए । वन हर्ट वल्र्डवाइडका नेपाल प्रतिनिधि सूर्य भट्टले मन्त्री पौडेलको विशेष पहलबाट मात्र औषधी प्राप्त भएको भन्दै यो नेपालका लागि ठूलो उपलब्धि भएको बताए ।
मन्त्रालयकाअनुसार त्यस्ता औषधीहरु चार वटा सरकारी अस्पतालहरु बीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुर, भक्तपुर क्यान्सर अस्पताल भक्तपुर, शुशिल कोइराला प्रखर क्यान्सर अस्पताल बाँके, वीर अस्पताल काठमाडौंलाई हस्तान्तरण गरिएको छ ।