काठमाडौं । दोस्रो काठमाडौं जेभियर पब्लिक ‘थ्री बाइ थ्री’ बास्केटबल प्रतियोगिता हुने भएको छ । काठमाडौंको नयां बानेश्वरस्थित काठमाडौं जेभियर पब्लिक स्कुलको आयोजनामा भोली मंगलबारदेखि ‘थ्री बाइ थ्री’ बास्केटबल प्रतियोगिता हुने भएको हो ।
प्रतियोगितामा ६४ टिमको सहभागिता रहने काठमाडौं जेभियरका संस्थापक प्रिन्सिपल आरबी अधिकारीले आज आयोजित पत्रकार सम्मेलनमा जानकारी गराए । सिनियर ब्वाइज र जुनियर ब्वाइजमा समान २४–२४ तथा सिनियर गल्र्समा १६ टिमले लिग कम नकआउट आधारमा प्रतिस्पर्धा गर्नेछन् ।
प्रतियोगितामा दुवै समूहको विजेताले ७ हजार र उपविजेताले ५ हजार नगद पुरस्कार पाउने काठमाडौं जेभियरका इसीए इन्चार्ज खड्ग केसीले जानकारी दिए।
प्रतियोगिता सञ्चालन गर्न करिब ३ लाख ५० हजार खर्च हुने काठमाडौं जेभियरका बास्केटबल प्रशिक्षक विकास बोटेले बताए । हाल जापानमा रहेका काठमाडौं जेभियरकै पूर्व विद्यार्थी सन्जिव मगरले पनि प्रायोजन गर्ने संस्थापक प्रिन्सिपल अधिकारीले बताए ।
प्रतियोगिताका खेलहरु स्कुलकै कोर्टमा खेलाइने र फाइनल खेल बिहीबार हुने प्रिन्सिपल अधिकारीले बताए ।