
काठमाडौं । अतिक्रमित भूमिसहितको नयाँ नक्सा नेपालको निसान छापमा राखिएसंगै संवैधानिक मान्यता पाएको छ । आज (बिहीबार) राष्ट्रपति विद्यादेवी भण्डारीले भारतद्धारा अतिक्रमित भूमी लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्र समेटिएको नेपालको नयाँ नक्सालाई निसान छापमा राख्नका लागि गरिएको संविधान संसोधन विधेयक प्रमाणिकरण भएपछि यसले संवैधानिक मान्यता पाएको हो ।
राष्ट्रपति भण्डारीले नेपालको संविधानको (दोस्रो संशोधन) विधेयक २०७७ लाई प्रमाणीकरण गरेकी हुन । निशान छापमा लिम्पियाधुरासहितको नयाँ नक्सा अद्यावधिक गर्न सरकारले ल्याएको संविधान संशोधन विधेयकलाई प्रतिनिधिसभा र राष्ट्रियसभाबाट पारित गरी प्रमाणीकरणका लागि आज राष्ट्रपति भण्डारीसमक्ष पेस गरिएको थियो ।
प्रतिनिधिसभाबाट ३१ जेठ र राष्ट्रियसभामा आज उक्त संसोधन विधेयक सर्वसम्मतिले पारित गरेको थियो । सरकारले जेठ ५ गते लिम्पियाधुरासहितका क्षेत्र समेटेर नेपालको नयाँ राजनीतिक तथा प्रशासनिक नक्सा मन्त्रिपरिषदबाट पास गरेको थियो ।
त्यसपछि जेठ ९ गते संविधानको अनुसूची ३ मा रहेको निशान छापमा नयाँ नक्सा राख्न संविधान संशोधन विधेयक संसद सचिवालयमा दर्ता गरेको थियो ।











