
काठमाडौं । सरकारले कोरोना महामारी रोकथाम तथा नियन्त्रणका लागि चैत ११ गतेबाट घोषणा गरेको लकडाउन साउन ७ गतेसम्मका लागि लम्ब्याएको छ । सोमबार साँझ बसेको मन्त्रिपरिषद्को बैठकले लकडाउन साउन ७ गतेसम्म लम्ब्याउने निर्णय गरेको हो ।
बैठकले लकडाउनसँगै हवाइ उडान र सीमा नाका पनि साउन ७ गतेसम्म बन्द रहने निर्णय गरेको छ । यसअघि जेठ २८ गते बसेको मन्त्रिपरिषद् बैठकले लकडाउनलाई खुकुलो बनाउने निर्णय गरेको थियो ।
असार १ गतेबाट केही खुकुलो गरेको लकडाउनलाई भने यथावत् राख्ने निर्णय गरेको छ । स्वास्थ्यसँग सम्वन्धित सबै सेवा खुला छन् भने सबै प्रकारका कृषि र पशुपक्षी सेवा, उत्पादन र बिक्री खुला गरिएको छ । यस्तै उद्योग, व्यापार, व्यवसाय, पसलहरु, डिपार्टमेन्टल स्टोरहरु ढुवानी सेवा पनि खुला गरिएको छ ।
यसैगरी व्यक्तिहरुको पैदल आवागमन खुल्ला गर्दै जोर बिजोरको आधारमा मोटरसाइकल निजी सवारी साधन सञ्चालन गर्न दिइएको छ । यसैगरी सरकारले बैंक, बित्तीय संस्था र सहकारी पनि खुल्ला छन् ।
तर, जिमखाना, सपिङ मल, समूहमा खेलिने खेलमैदान, प्रस्तुतिहरु, सबै प्रकारका धार्मिक तथा सामाजिक स्थलहरु, क्वारेन्टाइनका लागि तोकिएका बाहेकका होटल खोल्न रोक लगाइएको छ ।
यस्तै यात्रुबहाक सार्वजनिक सवारी साधन सञ्चालनमा पनि रोक लगाइएको छ । बैठकमा कोरोना संक्रमण दर बढ्दै गइरहेको सन्दर्भमा यसबारे गम्भीर समीक्षा भएको बताइएको छ ।








