कोरोना त्रासले नर्सलाई कोठाबाट निकाल्ने घरबेटी वडा सचिव पक्राउ

दाङ । कोरोनाको संक्रमण हुने भन्दै नर्सलाई कोठाबाट निकाल्ने घरबेटी पक्राउ परेका छन् । पक्राउ पर्नेमा दाङको घोराही उपमहानगरपालिका १८ नवलपुर का घरबेटी नारायण आचार्य रहेका छन् । आचार्य घोराही उपमहानगरपालिका–२ को कार्यालयका वडा सचिव समेत हुन ।

उनले आफ्नो घरमा कोठा लिई बस्दै आएकी दाङको तुलसीपुर उपमहानगरपालिका १६ गणेशपुरकी २० वर्षीया नर्स सिर्जना खड्कालाई कोरोनाको संक्रमण हुने भन्दै कोठाबाट निकालेको आरोपमा मंगलबार प्रहरीले पक्राउ गरेको हो ।

घोराहीस्थित बुद्ध इन्टरनेशनल हस्पिटलमा कार्यरत नर्स खड्कालाई हस्पिटल जाँदा आउँदा कोरोना संक्रमण हुनसक्ने भन्दै घरबेटी आचार्यले कोठा छोड्न दवाब दिएको गुनासो आएपछि घरबेटी आचार्यलाई पक्राउ गरी आवश्यक अनुसन्धान थालिएको प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजालले जानकारी दिए ।

मंसिरदेखि कोठा भाडामा बस्दै आएकी खड्का चैत १५ देखि कोठा भाडामा बस्न नपाएको गुनासो आएको थियो । उनले हाल होटेलमा बस्दै आएको मिडियामा बताएकी थिइन ।

कोरोना त्रासकै कारण स्वास्थ्यकर्मीलाई घरभाडामा बस्न कठिन भएको गुनासो आएपछि जिल्ला प्रशासन कार्यालयले मंगलबार एक सूचना जारी गरी सबै घरबेटीहरुलाई यस्तो व्यवहार नगर्न अनुरोध समेत गरेको छ।

कठिन परिस्थितीमा स्वास्थ्य सेवामा खटिरहेका स्वास्थ्यकर्मीहरुलाई घरभाडामा बस्न नदिए कडा कारवाही गरिने प्रशासनले सूचनामार्फत सबैलाई सचेत पारेको छ ।

प्रशासनबाट जारि यो सूचना हेर्नुहोस

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार