
काठमाडौं । अन्तत : नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टीबीच प्रदेश सरकार गठनमा सहकार्य गर्ने सहमति भएको छ । तीनबुँदे सहमति पत्रमा एमाले अध्यक्ष केपी शर्मा ओली र नेकपाका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले हस्ताक्षर गरेका छन्।
दुई दलबीच बजेट निर्माणमा देखिएको असमझदारी, बजेटविहीनताको अवस्था र अस्वस्थ राजनीतिक प्रतिस्पर्धा लगायतका समस्या समाधान गर्न सहमति पत्रमा हस्ताक्षर भएको हो।
सहमतिअनुसार संयुक्त सरकारमा कोशी प्रदेश, बागमती प्रदेश र लुम्बिनी प्रदेशको नेतृत्व नेपाल कम्युनिस्ट पार्टी ९एमाले० ले गर्नेछ। त्यसैगरी कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशको नेतृत्व नेपाली कम्युनिस्ट पार्टीले गर्नेछ।
मधेस प्रदेश र गण्डकी प्रदेशमा सरकार गठनका सन्दर्भमा प्रदेश सभामा प्रतिनिधित्व गर्ने अन्य राजनीतिक दलहरूसँग समेत परामर्श गरी सरकारको नेतृत्व र सहभागिताको स्वरूप तय गरिने सहमति पत्रमा उल्लेख छ।
यसरी दुई पार्टीबीच भएको सहमतिलाई निकै महत्वका साथ हेरिएको छ । लामो समयदेखि पार्टी एकताका लागि भइरहेको प्रयास पनि अब सफल हुने अनुमान गरिएको छ ।








