काठमाडौं । ‘देशद्रोही’ बोलको र्याप प्यार्टनमा गाइएको गीतमा नेपालको राष्ट्रिय झण्डा जलाएको बिषयमा सामाजिक संजालहरुमा चर्को विरोध भइरहेको छ । ‘मंगोल हप अफिसियल’ युट्युब च्यानलमार्फत सोमबार सार्वजनिक भएको उक्त गीतमा राष्ट्रिय झण्डा जलाएकोप्रती विरोध भइरहेको हो ।
गीतमा जातिय सद्भाव बिग्रार्ने खालमा शब्दहरु समेटिएको भन्दै धेरैले आपत्ती समेत जनाएका छन् । जनजाती आदिवासीको इतिहास, उत्पिडन र नेपालको बर्ण ब्यवस्थालाई गीतमार्फत भन्न खोजेपनि राष्ट्रय झण्डा जलाउनु र जातिय सद्भाव बिग्राने शब्दहरु राख्नु आपत्तिजनक भएको धेरैले टिप्पणी गरिरहेका छन् ।
गीतमा भगवान गौतम बुद्ध, बाबा अम्बेडकर लगायतका फोटोहरु समेत प्रयोग भएको छ । त्यस्तै देशका शिर्ष नेता, पुर्वराजा, पृथ्वी नारायण शाह लगाएतको तस्बीर पनि प्रयोग भएको छ ।
गीतका शब्द र्यापरका मंगोल ग्याल्ज ली एन्ड एटीएमको भनेर उल्लेख छ ।
ज्ञानेन्द्र शाहीद्धारा उजुरी
गीत हटाई कारवाही गर्नु पर्ने भन्दै हाम्रो नेपाल हामी नेपालीका संयोजक ज्ञानेन्द्र शाही लगायत अन्य अभियान्ताहरुले समेत प्रहरीमा उजुरी गरेका छन् । संयोजक शाहीले जनाएअनुसार जिल्ला प्रहरी कार्यालय मकवानपुरमा गीतमा झण्डा जलाउनेलाई पक्राउ गरी कारवाही गर्नुपर्ने भन्दै उजुरी गर्दा भएको छ ।
(गीतमा राष्ट्रिय झण्डा जलाइएको हुनाले हामी उक्त भिडियो यहाँ राख्न असर्मथ छौं ।)