के अब काठमाडौं उपत्यकामा फेरि लकडाउन होला त ? यस्तो छ संक्रमितको अवस्था


काठमाडौं । सरकारले कोरोना राकथाम तथा नियन्त्रणका लागि चैत ११ गतेबाट लागु गरेको लकडाउन साउन ६ गते रातिबाट हटाएको थियो । लकडाउन हटाएसँगै काठमाडौं उपत्यकामा कोरोना संक्रमितको संख्या बढ्न थल्यो ।

साउन ७ गतेबाट बढ्न थालेको कोरोना संक्रमितको संख्या करिब एक महिनाको अवधिमा २ हजार नाघेको छ । उपत्यका बाहिर कोरोना संक्रमितको संख्या बढेका ठाउँमा धमाधम लकडाउन र निषेधाज्ञा गरिरहेका छन् ।

तर काठमाडौं उपत्यकामा भने कोरोना देखिएको वडा बाहेक अरु ठाउँमा सार्वजनिक यातायता, अफिस, उद्योग र पसलहरु निर्वाध रुपमा चलिरहेका छन् । यस्तो बेलामा सरकारले के अब फेरि लकडाउन गर्छ हाेला त, भन्ने विषयमा सबैको चासो बढेको छ ।

काठमाडौं उपत्यकाका तीन वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीले उपत्यकामा निषेधाज्ञा वा लकडाउन के गर्ने भन्ने विषयमा आज छलफल गर्दैछन् । तीनवटै जिल्लामा कोरोना संक्रमित बढेपछि आन्तरिक छलफलमा जुटेका उनीहरुले आज निष्कर्ष निकाल्ने बताएका  छन् ।

केही समयअघि तीनवटै जिल्लाका प्रशासनले काठमाडौंं उपत्यकामा प्रवेश कडाई गरेको भएपनि लुकिछिपि काठमाडौं आउनेकाे संख्या नघटेको उनीहरुले निष्कर्ष निकालेका छन् । त्यस्तै उपत्यकामा संचालन भइरहेका पसल, कार्यालय, अन्य यातायातले पनि स्वास्थ्यका मापदण्ड पुरा नगरेको पाइएको छ ।

अहिलेसम्म काठमाडौं उपत्यकामा कोरोना संक्रमितको संख्या २ हजार बढी छ । काठमाडौं उपत्यका कोरोनाको हटस्पट बनेको छ । पछिल्लो २४ घण्टाको रिर्पोट नआउदै काठमाडौं उपत्यकामा २ हजार १ सय ३४ जना कोरोना संक्रमित रहेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ।

जसमध्ये काठमाडौँमा १  हजार ७ सय ५, ललितपुरमा २ सय ८२, र भक्तपुरमा १ सय ४७ जना रहेका छन्। त्यस्तै उपत्यकामा कोरोना संक्रमणबाट अहिलेसम्म १० जनाको मृत्यु भइसकेको छ ।

लकडाउन बढेसँगै नयाँ रणनीति बनाउन कोभिड १९ संकट व्यस्थापन केन्द्र (सिसिएमसी) निर्देशक समितिको बैठक पनि आज बस्दैछ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार