काठमाडौँ । काठमाडौको चक्रपथमा मोनोरेल सञ्चालनका लागि विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) निर्माण गर्ने सम्झौता भएको छ । बुधबार काठमाडौं महानगरपालिका र चिनियाँ कम्पनी चाइना रेलवे २५औंँ ब्युरो ग्रुपकम्पनीबीच सम्झौता भएको हो।
सम्झौतामा काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्य र रेलवे कम्पनीका ओभरसिज विजनेस म्यानेजमेन्ट विभाग प्रमुख झ्यू ग्वाङ्विङ्ले हस्ताक्षर गरेकमा छन ।
महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले सबै राजनीतिक दलको साझा एजेण्डा र सबैको सपना मोनोरेल भएको उल्लेख गर्दै राज्यलाई आर्थिक बोझ नहुने गरी चिनियाँ कम्पनीसँग सम्झौता गरिएको बताए । डिपिआर सकिएसंगै अक ठेक्का प्रक्रियामा काम अगाडी बढ्ने महानगरपालिकाको भनाइ छ ।
नेपालले विसं २०१२ बाटै मोनोरेलको अध्ययन शुरु गरेपनि त्यसको काम भने शुन्य नै छ ।
माटो परीक्षणसहित वातावरणीय प्रभाव मूल्याङ्कन (इआइए), मोनोरेलको डिजाइन, प्राविधिक एवं निर्माण क्षमता, लागत अनुमान, ट्राफिक व्यवस्थापनको अनुमान, योजना सञ्चालनको चरण र लाभ विश्लेषण सहितको डिपिआर निर्माण हुने महानगरपालिकाले जनाएको छ । मोनोरेल निर्माणका लागि करिब १ खर्ब १६ अर्ब रुपैयाँ लागत अनुमान गरिएको छ ।