नेपाल–चीन सीमा प्रश्नमा सरकारको हतारो टिप्पणीः कांग्रेस


काठमाडौं । चीनले हुम्लामा नेपाली भूमि मिचेको छैन भनेर सरकारले दिएको प्रतिक्रियालाई प्रमुख विपक्षी नेपाली कांग्रेसले हतारको टिप्पणी भनेको छ ।

बिहीबार काँग्रेसले एक विज्ञप्ति जारी गर्दै हुम्लाको लिमी उपत्यकामा चीनले नेपाली भूमि अतिक्रमण गरेर भवनहरु बनाएको खबरबारे अध्यन टोलीको प्रतिवेदन नआउँदै सरकारले हतारमा टिप्पणी गरेको बताएको हो । सरकारका प्रवक्ता एवं परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले चीनले नेपाली भूमि अतिक्रमण नगरेको बताएका थिए ।

तर कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माद्धारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ, “हुम्ला जिल्ला स्थित नेपाल र चीनको सीमा सम्बन्धी प्रश्नमा सीमा मिचिएको हो या होइन भन्ने विषय स्थलगत अध्ययनको विवरण आउनु पूर्व नै ‘सीमा मिचिएको छैन’ भनेर परराष्ट्र मन्त्रालयले धारणा सार्वजनिक गरेको प्रति नेपाली कांग्रेसको ध्यानाकर्षण भएको छ ।”

अध्ययन टोलीले ११ नम्बर पिल्लर बुधबार मात्रै भेटेको र चीनले निर्माण गरेको संरचना १२ नम्बर पिल्लरबाट बाहिर या भित्र भनेर अध्ययन टोलीको स्थलगत अध्ययन निष्कर्षपछि सीमा मिचिएको होरहोइन भन्ने बारे निष्कर्षमा पुग्न सकिने स्थितिलाई सरकारले हेक्का नराखेको कांग्रेसको ठहर छ ।

पार्टीका केन्द्रीय सदस्य एवं कर्णाली प्रदेश संसदीय दलका नेता जीवनबहादुर शाही अध्ययनकै क्रममा रहेको भन्दै शर्माले भनेका छन्, ‘स्थलगत अध्ययनको धारणा आउनु पूर्व नै ‘सीमा मिचिएकै छैन’ भनेर ठोस अध्ययनको आधार बेगर धारणा सार्वजनिक गर्नु परराष्ट्र मन्त्रालयको कमजोरी रहेको हाम्रो ठहर छ ।”

जारी विज्ञप्ति पढनुहोस

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार