म्हः पूजा गर्ने क्रममा आगलागी हुँदा ललितपुरको पाटनमा एकै परिवारका ४ जनाको मृत्यु, २ गम्भिर घाइते

काठमाडौं । म्हः पूजा गर्ने क्रममा ललितपुरको पाटनस्थित मंगलबजारको एक घरमा आगलागी हुँदा एकै परिवारका ४ जनाको मृत्यु भएको छ ।
महानगरीय प्रहरी परिसर ललितपुरका प्रमुख एसएसपी किरण बज्राचार्यका अनुसार मृत्यु हुनेमा घरधनी लक्ष्मीकृष्ण ताम्राकार, उनकी छोरी अन्जना, बुहारी रन्जना र नाती निर्जल रहेका छन् ।

घटनामा अन्य २ जना गम्भीर घाइते भएर पाटन अस्पतालमा उपचार भइरहेको एसएसपी बज्राचार्य बताए। आज साँझ करिब साढे ६ बजे म्ह पूजा गर्नेक्रममा चार तले घरको तेस्रो तलामा बालेको दियोले पर्दामा छोएर आगलागी सुरु भएको प्रहरीको भनाई छ।

तेस्रो तलामा सल्केको आगोको लप्काले चौथो तलामा रहेको भन्साकोठामा रहेको खाना पकाउने ग्यास पड्किदा ४ जनाको घटनास्थलमै मृत्यु भएको एसएसपी बज्राचार्यले बताए । आगलागी नियन्त्रणका लागि दमकल, स्थानिय र प्रहरीले प्रयास गरिरहेका छन् ।
तिहारको समयमा बालिएको दियो,बत्तीबाट बर्षेनी आगलागीका घटना हुँदै आएका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार