
कैलाली। प्रधानमन्त्री शेरबहादुर देउवाले बहुप्रतिक्षित पश्चिम सेती परियोजना छिट्टै सम्पन्न हुने बताएका छन् । कैलालीको धनगढीमा आजदेखि सुरु भएको सुदूरपश्चिम महोत्सवको उद्घाटन गर्दै प्रधानमन्त्री देउवाले विगतको जस्तो पश्चिम सेतीको निर्माणको ठेक्का ठग कम्पनीलाई नदिएकाले परियोजना अब छिट्टै सम्पन्न हुने बताएका हुन् ।
उनले पश्चिम सेती परियोजना निर्माणका लागि भारतीय कम्पनीसँग सम्झौता भइसकेको र अब छिट्टै काम सुरु हुनेमा सरकार विश्वस्त रहेको बताए ।
उनले पश्चिम सेती जलविद्युत परियोजना, पञ्चेश्वर परियोजना निमार्णसंगै खप्तड, रामारोशन, शुक्लाफाँटा लगायतका पर्यटकीय क्षेत्रको विकासले सुदूरपश्चिम प्रदेस समृद्ध हुने बताए । देशको समृद्धिका लागि छिमेकीहरुसँगको सम्बन्धलाई पनि मजबुत बनाउनुपर्ने प्रधानमन्त्री देउवाको भनाई थियो।

महोत्सव आयोजकले प्रधानमन्त्री देउवालाई १५ किलोको माला लगाउदै पश्चिम सेती परियोजना निर्माण, गौरीफन्टा नाकालाई अन्तराष्ट्रिय नाकाका रुपमा स्तरोन्नती गर्नुपर्ने लगायतका १५ बुुँदे माग समेत राखेको थियो ।
आयोजकले राखेका माग सम्बोधन गर्न सरकार सकारात्मक रहेको बताउदै प्रधानमन्त्री देउवाले भारत भ्रमणका क्रममा गौरीफन्टा नाकाको स्तरोन्नतीको विषयमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग आफूले कुराकानी गरेको जानकारी दिए।
महोत्सवको उद्घाटन सत्रमा संघीय सरकारका श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शेरबहादुर कुँवर, सुदूरपश्चिम प्रदेस सरकारका मुख्यमन्त्री त्रिलाचन भट्ट, मन्त्रीहरु लगायतको उपस्थिती थियो । सुदूरपश्चिम महोत्सव अगामी पुष २ गतेसम्म चल्नेछ।











