काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा आज भारत प्रस्थान गरेका छन्। भारतीय समकक्षी नरेन्द्र मोदीको निमन्त्रणमा देउवा तीन दिने भ्रमणका लागि आज दिउँसो साढे १ बजे त्यसतर्फ प्रस्थान गरेका हुन्। भ्रमण टोली चार जना मन्त्रीसहित ५० सदस्यीय रहेको छ ।
प्रधानमन्त्रीको भ्रमण टोली भारतीय समय अनुसार दिउँसो २ः४५ बजे नयाँदिल्लीस्थित इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्नेछ।
त्यसपछि भ्रमण टोली चाणक्यपुरीस्थित आईटीसी मौर्य होटलमा जाने छ जहाँ बस्ने ब्यवस्था मिलाइएको छ।
प्रधानमन्त्री देउवाको पहिलो भेट भारतीय विदेशमन्त्री एस जयशंकरसँग हुने छ । विदेशमन्त्री जयशंकर देउवालाई भेट्न आज अपराह्न साढे चार बजे मौर्य होटलमा पुग्ने छन् । त्यसपछि देउवा पाँच बजे सत्तारुढ भारतीय जनता पार्टी (भाजपा)को केन्द्रीय कार्यालयमा पुग्ने छन् । जहाँ देउवाको स्वागतको लागि पार्टी कार्यालय परिसर सजाइएको छ ।
भाजपाका नेताहरुले देउवालाई स्वागत गरिसकेपछि उनि नयाँदिल्लीस्थित नेपाली राजदूतावासमा पुग्नेछन् । दूतावासले प्रधानमन्त्रीको सम्मानमा आयोजना गरेको रात्रिभोजमा देउवासहितको टोली सहभागी हुनेछ।
भ्रमण तालिकाअनुसार भोली शनिबार बिहान १०ः४० बजे देउवा महात्मा गान्धीको समाधीस्थल राजघाट पुग्ने छन् । त्यहाँ पुष्पुच्छा अर्पण गरेपछि औपचारिक कार्यक्रममा सहभागी हुन देउवा हैदरावाद हाउस पुग्ने छन् ।
हैदरावाद हाउसमा समकक्षी नरेन्द्र मोदीसँग बिषेश भेटवार्ता हुनेछ। हैदरावाद हाउसमै नेपाली र भारतीय प्रतिनिधिमण्डलस्तरीय छुट्टै वार्ता पनि हुने कार्यतालिका छ । त्यसैगरी दिउँसो सवा १२ बजे जनकपुर–जयनगर रेल सेवा र सोलु करिडोर विद्युत प्रसारण लाइनको दुवै देशका प्रधानमन्त्रीले भर्चुअल माध्यमबाट उदघाटन गर्ने कार्यक्रम छ ।
त्यसैगरी भारतको सहयोगमा निर्माण गरिएका १३२ वटा स्वास्थ्य चौकी भवन पनि नेपाललाई हस्तान्तरण गर्ने कार्यक्रम छ ।
संयुक्त पत्रकार सम्मेलनमा सहभागी भएपछि देउवाले अपराह्न साढे ४ बजे भारतका राष्ट्रपति र उपराष्ट्रपतिसँग शिष्टाचार भेटवार्ता गर्ने तालिका छ। शनिबारको दिन साँझ होटलमा भारतका उद्योगी व्यवसायीका प्रतिनिधिहरुले देउवालाई भेटवार्ता गर्ने कार्यक्रम पनि तय गरिएको छ ।
आइतबार बिहान ९ बजे विशेष जहाजमार्फत् देउवा बनारस जाने छन् । बनारसमा उत्तरप्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले देउवालाई स्वागत गर्ने कार्यक्रम राखिएको छ।
बनारसमा रहँदा देउवाले काशी विश्वनाथ मन्दिर र त्यहाँ रहेको पशुपतिनाथ मन्दिरमा दर्शन गर्नेछन् । बनारसबाट अपराह्न चार बजे देउवा पुनः दिल्ली जाने र स्वदेश फर्किने कार्यक्रम तय भएको प्रधानमन्त्री कार्यालयले जनाएको छ ।