
काठमाडौं । गृहमन्त्री गृहमन्त्री नारायणकाजी श्रेष्ठ प्रकासले कोशीमा जारी पहिचानवादी आन्दोलनमा अराजक गतिविधि सरकारलाई मान्य नहुने प्रष्ट पारेका छन् ।
संसदमा प्रमुख प्रतिपक्ष नेकपा एमालेलाई जवाफ दिदैं उपप्रधानमन्त्री समेत रहेका श्रेष्ठले सरकारले कोशी प्रदेशमा जारी पहिचानवादीहरुको आन्दोलनलाई नजिकबाट नियालिरहेको समेत बताए । एमालेले पहिचानको नाममा आफ्ना नेताहरुमाथि आक्रमण गर्नेसम्मका कार्य हुन थालेको भन्दै बिहीबार प्रतिनिधिसभामा सरकारसँग जवाफ मागेको थियो ।
गृहमन्त्री श्रेष्ठले विचार तथा अभिव्यक्ति स्वतन्त्रताको नाममा अराजक गतिविधिलाई सरकारले कुनैपनि रुपमा छुट नदिने प्रष्ट पारेका हुन् ।
‘संविधान, लोकतन्त्रमा विचार अभिव्यक्तिको सम्मान गर्छौं । अर्को नामाकरणका लागि जनमत निर्माणका गतिविधि गर्छन भने त्यसको सम्मान गर्छौं । तर, त्यस क्रममा अराजक गतिविधि हुने कुरा मान्य हुँदैन’, गृहमन्त्री श्रेष्ठले भने ।
पहिचानको नाममा भएका आन्दोलनका क्रममा अवान्छनीय र अराजक गतिविधिहरु देखा पर्नु दुखद भएको बताउँदै उनले सरकारले समन्वयमा वातावरण शान्त पार्ने प्रयास गरिरहेको बताए ।
प्रदेशका मुख्यमन्त्री, सांसद लगायतका व्यक्तिलाई अवरोध गर्ने र कोशी प्रदेश लेखिएका कार्यालय बोर्ड हटाउने कार्य हुन खोजेकोमा त्यसलाई रोक्ने कार्य सरकारले गरेको पनि गृहमन्त्री श्रेष्ठको भनाई छ ।
एमालेले पार्टी अध्यक्ष केपी शर्मा ओली, संसदीय दलका उपनेता सुवास नेम्वाङ लगायतका नेताहरुको पूर्वका विभिन्न क्षेत्रमा भ्रमण हुँदा सडकहरुमा अवरोध सिर्जना गर्ने, रुखहरु ढाल्ने, गाडीमा ढुंगामुडा गर्ने, कालो झण्डा देखाउने कार्य भएको भन्दै सरकारको जवाफ माग गरेको थियो ।
पहिचानवादीहरुले कोशी प्रदेश खारेज गरी नयां नामाकरण गर्नुपर्ने भन्दै आन्दोलन गर्दै आएका छन् । लामो समय देखि जारी आन्दोलनका क्रममा अहिलेसम्म एकजनाको मृत्यु हुनका साथै दर्जनौं घाइते भएका छन् ।













