
काठमाडौँ । भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाले गएराती पूर्वी पहाडी जिल्लामा गएको बाढी पहिरोका कारण सडक र पुल मात्रै ५० करोड रुपैयाँभन्दा बढीको क्षति भएको बताएका छन् ।
आज बसेको प्रतिनिधिसभा बैठकमा आकस्मिक र शून्य समयमा सांसदहरूले गरेको प्रश्नको जवाफ दिँदै मन्त्री ज्वालाले ताप्लेजुङ, संखुवासभा, पाँचथर, तेह्रथुमलगायतका जिल्लामा गएराती आएको बाढीले पुर्याएको क्षतिबारे जानकारी दिँदै भौतिक मन्त्रालय अन्तर्गत पुल र सडकको मात्रै ५० करोड रुपैयाँ बढीको क्षति भएको बताएका हुन् ।
‘बाढी पहिरोले धेरै ठुलो जनधनको क्षति भएको छ । केही व्यक्तिको ज्यान गएको र कतिपय बेपत्ता हुनुहुन्छ । सरकारले बेपत्ता नागरिकको खोज, उद्धार र राहातका लागि तीव्र काम गरिरहेको छ । नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी खोज तथा उद्धारमा खटिएका छन्, मन्त्री ज्वालाले भने ।
उनले ताप्लेजुङ र पाँचथर जोड्ने मेची राजमार्गको ४६ मिटर लामो हेवा खोला पुल भत्किएपछि ताप्लेजुङ यातायातको सम्पर्कबाट पूर्णरुपमा विच्छेद भएको पनि जानकारी दिए । अरुण कोरिडोरमा ५ सय मिटर सडक बगेको, पांग्रेभिरको सडक खुलाउने प्रयास सुरु भैसकेको ,फालेलुङको पुल बगेको, फिदिम यासोक सडक अवरुद्ध भएको, कान्छी दोकान अवरुद्ध भएको, चिया भन्ज्याङको फलौचा बजारको मेवा खोला पुल भत्किएको समेत उनले संसदलाई जानकारी गराएका छन् ।
मन्त्री ज्वालाले भत्किएका पुल र बाटोमा आवातजावतका लागि तत्काल वैकल्पिक ब्यवस्था गर्न समेत सम्बन्धित निकायलाई केन्द्र सरकारबाट निर्देशन भएको र काम सुरु भइसकेको समेत जानकारी दिए ।












