यस्ता छन् समाजवादी मोर्चाको पहिलो बैठकले गरेका निर्णय


काठमाडौँ । समाजवादी मोर्चा, नेपालको पहिलो बैठक सम्पन्न भएको छ । मोर्चाको बैठक शनिबार काठमाडौंको आलोकनगरस्थित नेकपा (एकीकृत समाजवादी)को केन्द्रीय कार्यालयमा सम्पन्न भएको हो ।

बैठकले मोर्चाको सन्देश दिने गरी सबै प्रदेशको राजधानी सहरमा केही दिनभित्रै औपचारिक कार्यक्रम गर्ने निर्णय गरेको नेकपा (एकीकृत समाजवादी)का उपाध्यक्ष राजेन्द्रप्रसाद पाण्डेले जानकारी दिएका छन् ।

समाजवादी मोर्चा गठन भएको २३ दिनपछि बैठक कसेको हो । मोर्चाको उद्देश्य, यसको गठनबाट देशले पाउने कुरा र अहिलेको लोकतान्त्रिक समाजवादी आन्दोलनलाई अगाडि बढाउने बारेमा बैठकमा छलफल भएको पाण्डेले जानकारी गराए । बैठकपछि पत्रकारसँग बोल्दै उनले उनले भने, ‘यो छलफल पश्चात र, यसका सन्देशहरु दिनका लागि हामीले केही दिनभित्र सातवटै प्रदेशका राजधानीहरुमा कार्यक्रम गर्छौ । त्यो कार्यक्रम कुन–कुन मितिमा गर्छौं भन्ने आउँदो २७ गते घोषणा हुन्छ । २७ गते मोर्चाको दोस्रो बैठक बस्ने छ । ’

बैठकले मोर्चाको आचारसंहिता, नीति, कार्यक्रम निर्माणका लागि ४ सदस्यीय कार्यदल पनि गठन गरेको छ । माओवादी केन्द्रका महासचिव देवप्रसाद गुरुङ, एकीकृत समाजवादीका उपाध्यक्ष प्रमेश हमाल, जनता समाजवादी पार्टी नेपालका नेता राजेन्द्र श्रेष्ठ र नेकपाका प्रवक्ता खडगबहादुर विश्वकर्मा कार्यदलमा रहेको पनि उपाध्यक्ष पाण्डेले बताए ।

कार्यदलले तयार गरेको प्रतिवेदन आगामी असार २७ गते बस्ने मोर्चाको बैठकमा पेश हुने र पारित हुनेछ । उपाध्यक्ष पाण्डेका अनुसार मोर्चाको बैठकको अध्यक्षता ६,६ महिनामा परिवर्तन गर्ने सहमति पनि गरिएको छ ।

पाण्डेले भने, ‘आज ४ जनाको कार्यदल बनेको छ । त्यसको नीति, त्यस्तै गरेर आचारसंहितालगायतका कार्यक्रमहरु तय गर्ने काम चाँही त्यो कार्यदलले तयार पारेर ल्याउने छ । र, सामान्यतयाः यो मोर्चाको ६र६ महिनामा अध्यक्षता गर्ने, एक जनाले ६ महिना गर्ने, त्यसपछि अर्को ६ महिना अर्को नेताले गर्ने यस्तो खालको सरसल्लाह भएको छ । त्यो सबै टुंगो पनि आउँदो बैठकले गर्नेछ । लगभग समझदारी त्यही छ । त्यो समझदारी टुंगो नहुन्जेल माधवकुमार नेपालले नै बैठकको अध्यक्षता गर्नुहुनेछ ।’

नेताहरुले मोर्चाको बैठक बस्न ढिलाई भएको स्वीकार गर्दै त्यसलाई क्रियाशील बनाउनुपर्नेमा जोड दिएका थिए । बैठकमा प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादव, नेकपाका महासचिव नेत्रविक्रम चन्द विप्लवसहितका नेताहरुको सहभागिता रहेको थियो ।

मोर्चाको दोस्रो बैठक नेकपा (एकीकृत समाजवादी)को केन्द्रीय कार्यालयमा असार २७ गते बस्ने छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार