काठमाडौं । नेकपा (माओवादी केन्द्र) को तीन महिने अभियान आजबाट सुरु भएको छ । विशेष रुपान्तरण अभियान नाम दिइएको यस अभियानको प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष प्रचण्डले भर्चुअल माध्यमबाट उद्घाटन गर्दै सुरुवात भएको हो ।
देशभरका ७ हजार २४३ वडामा एकसाथ सुरु भएको ‘जनतासँग माओवादी स् विशेष रुपान्तरण अभियान’ का क्रममा शीर्ष नेताहरू पनि वडावडामा पुग्ने कार्यक्रम तय भएको प्रचार विभाग प्रमुख अग्निप्रसाद सापकोटाले बताए ।
बिहान भर्चुअल माध्यमबाट सुरुवात भएपनि औपचारिक कार्यक्रम भने दिउँसो १ बजे हुनेछ प्रमुख सापकोटाले बताए। यसक्रममा प्रधानमन्त्री समेत रहेका प्रचण्ड चन्द्रागिरि नगरपालिका २ घट्टेडाँडाको कार्यक्रममा जाने कार्यक्रम रहेको उनले बताए।
त्यसैगरी, गृहमन्त्री एवम् पार्टी वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ प्रकास ललितपुर महानगरपालिका २८ हरिसिद्धीको कार्यक्रममा सहभागी हुनेछन् ।
माओवादीले अभियानका क्रममा जनताको घरघरमा जाने र जनतालाई सुन्ने रणनीति लिएको र सोहि अनुसार पार्टीलाई रुपान्तरण गर्ने लक्ष्य लिएको छ ।
पार्टीको जनतासंगको सम्पर्क कमजोर हुँदा पार्टी नै कमजोर भएको निश्कर्ष निकाल्दै तल्लो तहबाट रुपान्तरण अभियान सुरुवात गरिएको माओवादी नेताहरु बताउँछन् ।