काठमाडौं । हिन्दूहरुको महान चाड विजयी दशमीको आज सातौ दिन फुलपाती भित्र्याइदैछ । विधिपुर्वक आज घरको पूजा कोठा वा दशैंघरमा फूलपाती भित्र्याइँन लागेको हो। आजै नौ दुर्गामध्येकी सातौँ कालरात्रि देवीको विधिपूर्वक पूजा आराधना पनि गरिन्छ ।
नवरात्रका नौ दिन घटस्थापना गरिएको स्थलमा दुर्गा सप्तशती (चण्डी), श्रीमद्देवी भागवतलगायत देवी स्तोत्र पाठ समेत गरिन्छ । नवरात्रका अवसरमा देवीको आराधना गरी पूजा गरेमा शक्ति, ऐश्वर्य र विद्या प्राप्त हुने धार्मिक विश्वास छ । यसै आधारमा हिन्दू धर्मावलम्बीले प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि नवमीसम्म दुर्गा देवीको विशेष आराधना गर्छन् । नौ दिनसम्म पूजा आराधना गरेको प्रसाद विजयादशमीदेखि कोजाग्रत पूर्णिमाका दिनसम्म लगाइन्छ ।
यसैबीच, फुलपातीको अवसरमा आज बिहान गोरखा दरबारबाट विधिपुर्वक फूलपाती काठमाडौँस्थित दरबार हेरचाह अड्डामा पठाइएको छ । गोरखाबाट गाडीमा राखेर फूलपाती काठमाडौं पठाइएको हो ।
पृथ्वी नारायण शाहले काठमाडौँ एकीकरण गरेपछि गोरखाको संस्कार संस्कृति जोगाउनका लागि र त्यसबाट शक्ति आर्जन हुने विश्वासका साथ फूलपातीको डोली नियमित काठमाडौँ पठाउन थालिएको बताइन्छ ।
गोरखाबाट ल्याएको फूलपाती हनुमान ढोका पुगेपछि हर्ष बढाइँका साथ फूलपाती भित्र्याउने चलन छ ।