कविता- ‘कुकुर’ हुन मन छ,

मलाई आजभोलि कुकुर हुन मन छ
किनकि मान्छेको स्वरूपमा जन्मेर
मन्दिरमा पूजा गर्न नपाएको मैले ,
एक खुट्टा उचालेर कम्तिमा मन्दिरमा

‘सु-सु’ गर्न सक्छु !  तिहारमा पूजिन सक्छु ।
अनि तिम्रो भात भान्सामा ओहर दोहर गर्न सक्छु,
आधुनिक भनिनेहरूको काखमा ‘लुटुपुटु’ हुन सक्छु । 

चिल्ला गाडीहरूको झ्यालमा मुन्टो निकालेर,
सडकपेटीमा हिड्ने मान्छेलाई जिस्काउन सक्छु ,
‘मान्छे भन्दा कुकुर वफादार’ भन्ने प्रशंसा सुन्न सक्छु !

म मान्छे भइकन ‘ डेरावाल’ जीवन बिताउनेले,
सौखिनहरूको गेटमा बन्ने ‘खोर’ को भए पनि,
कम्तिमा ‘मालिक’ त हुन सक्छु ।
त्यसैले मलाई हिजो आज ‘कुकुर’ हुन मन छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार